मधेश

श्रीमतीको उपचार गर्न लिएको पैसा प्रदेश प्रमुख मिश्रले फिर्ता गरे

इकागज |
मंसिर १३, २०७८ सोमबार ११:२९ बजे

जनकपुरधाम- प्रदेश २ का प्रदेश प्रमुख हरिशंकर मिश्रले श्रीमती उषा मिश्रलाई स्वास्थ्य उपचारका लागि प्रदेश सरकारबाट पाँच लाख आर्थिक सहयोग उपलब्ध गराएका थिए । तर त्यसको चर्को आलोचना भएपछि उनले फिर्ता गरेका छन् । 

केही दिनअघि प्रदेश सरकारले गुपचुप रूपमा प्रदेश प्रमुखकी श्रीमती मिश्रको उपचारका लागि पाँच लाख रुपैयाँ उपलब्ध गराएको थियो । तर उक्त खबर सञ्चारमाध्यममा सार्वजनिक भई सामाजिक सञ्जाललगायतमा आलोचना भएपछि प्रदेश प्रमुख मिश्रले आइतबार पाँच लाखको चेक मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा फिर्ता गरेको स्रोतले बतायो ।


आर्थिक सहायता उपलब्ध गराउनेसम्बन्धी निर्देशिका, २०७६ बमोजिम कुनै व्यक्तिलाई २५ हजारदेखि तीन लाखभन्दा बढी राज्यकोषबाट उपलब्ध गराउन मिल्दैन । आर्थिक सहायता उपलब्ध गराउनेसम्बन्धी निर्देशिका, २०७६ को दफा ३ को उपदफा (१) मा ‘ प्रदेशभित्रका असहाय, विपन्न वर्ग, अशक्त तथा गम्भीर प्रकृतिको रोग लागेकालाई निजको जीवनयापन वा औषधोपचारका लागि प्रदेश सरकारले सहयोगस्वरूप आर्थिक सहायता प्रदान गर्न सक्ने,’ भनिएको छ ।

त्यसैगरी, निर्देशिकाको दफा ३ को उपदफा (३) मा ‘असहाय व्यक्तिलाई प्रतिव्यक्ति २५ हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म, विपन्न वर्गका व्यक्तिलाई २५ हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म, अशक्त व्यक्तिलाई ५० हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म र गम्भीर प्रकृतिका रोगीलाई बढीमा तीन लाख रुपैयाँसम्म’, उपलब्ध गराउने व्यवस्था छ । तर प्रदेश सरकारले कार्यविधि मिचेर पूर्वमन्त्री, सांसदलगायतलाई स्वास्थ्य उपचारको नाममा लाखौ रुपैयाँ दिएको थियो । पूर्वराज्यमन्त्री तथा लोसपाका नेतृ डिम्पल झालगायतलाई उपचारका लागि प्रदेश सरकारले ५० लाख भन्दा बढी रुपैयाँ आर्थिक सहयोग गरिसकेको छ । 


Author

थप समाचार
x