मधेश

‘ओली प्रवृतिले संविधान र संघीयता डेन्जर जोनमा’

सुभाष कर्ण |
पुस १७, २०७७ शुक्रबार १३:३८ बजे

जनकपुरधाम : नेकपा दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य गिरिराजमणि पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनकारी कदमले संविधान र संघीयता ‘डेन्जर जोन’मा परेको बताएका छन् । शुक्रबार प्रदेश कमिटीद्वारा आयोजित पत्रकार सम्मेलनमा नेता पोखरेलले गैरसंवैधानिक र अलोकतान्त्रिक तरिकाले प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेको बताए ।

ओलीको प्रतिगमनकारी कदमले देशमा अराजकता, भ्रष्टाचार मौलाउँदै गएको उनले आरोप लगाए । ‘प्रम ओलीको बालहट र मुर्ख प्रवृतिले ‘संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र डेन्जर जोनमा परेको छ,’ उनले भने, ‘ओलीको एकल सर्वसत्तावाद मानसिकताले चालिएको कदमबाट हजारौ नेपाली जनताको शहादतबाट प्राप्त उपलब्धी नै समाप्त भएर जाने डर हामीलाई लागेको छ ।’


संघर्ष र आन्दोनबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिक प्रणाली र धर्मनिरपेक्षता ओलीले समाप्त गर्न खोजेको उनको आरोप छ । ओलीको कदमले जनतालाई ठूलो क्षति हुन सक्ने भएकोले ओलीविरुद्ध सबै लोकतान्त्रिक शक्तिलाई एकजुट हुन आह्वान गरे । 

अब देशभर दोस्रो चरणका आन्दोलन गरिने उनले बताए । दोश्रो चरणको आन्दोलनका लागि विश्वनाथ साहको सयोजकत्वमा एक हजार एक सदस्यीय संघर्ष समिति गठन गरिएको उनले जानकारी दिए । उनका अनुसार पुस १८ गतेदेखि स्थानीय तहमा संघर्षका कार्यक्रमहरू अगाडि बढाइने भएको छ । जिल्ला तथा स्थानीय तहले आफ्नो आवश्यक्ता अनुसार आन्दोलनका कार्यक्रमहरू तय गर्न सक्ने उनको भनाइ थियो ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x