मधेश

हत्या र किर्ते आरोपमा भारतीय नागरिकसहित ५ पक्राउ

सुभाष कर्ण |
पुस १७, २०७७ शुक्रबार १९:१७ बजे

जनकपुरधाम : धनुषा प्रहरीले विभिन्न अपराधिक घटनामा संलग्न एक महिलासहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ परेकालाई शुक्रबार जिल्ला प्रहरी कार्यालय धनुषाले सार्वजनिक गरेको हो । 

बालक हत्या आरोपमा एक महिला र किर्ते जालसाजी नक्कली कागजात तयार पार्ने आरोपमा एक भारतीय नागरिक सहित ४ जनालाई पक्राउ गरेको छ ।  अभिनन्दन राय अमातको हत्या आरोपमा स्थानीय प्रमिला देवी बुधबार पक्राउ परेको हो ।


आर्थिक लेनदेनको रिसइबीमा प्रमिला देवीले अभिनन्दनलाई चाउचाउ खुवाएर बालक अभिनन्दनलाई घाँटी थिचेर हत्या गरी आफ्नो बुवाको गाईगोठमा खाल्डोमा गाडिएको अवस्थामाप फेला परेको र आरोपितले आफ्नो कसूर स्वीकार गरिसकेको प्रहरी उपरिक्षक रमेश बस्नेतले पत्रकार सम्मेलनमा जानकारी दिए ।

त्यस्तै जनकपुरधामस्थित सिटी प्यालेस गेष्ट हाउस एण्ड फैमिली रेष्टुरेन्ट होटलमा सरकारी कागज हस्ताक्षर छाप किर्ते गरी नक्कली कागजात तयार पार्ने आरोपमा एक भारतीय नागरिकसहित चार जनालाई पक्राउ गरेको छ ।

सो होटलमा नक्कली कागजात तयार पार्ने कार्य भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले छापा मार्दा विभिन्न बैंकको चेक र नगद भाउचर, नेपाल प्रहरी केन्द्रिय अनुसन्धान ब्यूरोको ज्वाइनिंग लेटर, नेपाल रेलवेको आवेदन फाराम, विभिन्न निकायको स्टाम्पसहित भारत विहार अररिया जिल्ला फार्बिसगंज घर भई विराटनगर बस्दै आएका समिर साहलाई पक्राउ गरिएको थियो ।

घटनाको अनुसन्धान गर्दै जाँदा नक्कली कागजात तयार पार्ने कार्यमा संलग्न रहेको आरोपमा महोत्तरी जिल्ला भंगहा नगरपालिका ९ बस्ने आदित्य कुमार साह, जनकपुरधाम ४ बस्ने चन्दन साह र जनकपुरधाम २ बस्ने रामचन्द्र साहलाई समेत पक्राउ गरिएको प्रहरी उपरिक्षक बस्नेतले जानकारी दिए ।

पक्राउ परेका मध्ये प्रमिला देवी विरुद्ध कर्तव्य ज्यान र भारतीय नागरिक समिर साहसहित आदित्य कुमार यादव, चन्दन साह रामचन्द्र साहविरुद्ध किर्ते जालसाजीको मुद्दा चलाइएको छ ।  


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x