मधेश

कांग्रेस जिल्ला अधिवेशन:

धनुषामा चुनावी गतिविधि तीव्र

सुभाष कर्ण |
पुस २२, २०७८ बिहिवार १४:४४ बजे

जनकपुरधाम- कांग्रेसको केन्द्रीय र प्रादेशिक अधिवेशन सम्पन्न भएपछि जिल्ला अधिवेशन अन्तर्गत चुनावी गतिविधि तीव्र भएको छ । देशका १६ जिल्ला मध्ये धनुषामा पुस २७ गतेका लागि तोकिएको अधिवेशनको मिति माघ १५ गते तोकिएपछि गुट उपगुटसहितका व्यक्तिहरुले निर्वाचन गतिविधि तीव्र पारेका हुन ।

प्रदेश २ का ८ वटै जिल्ला मध्ये कुनैपनि जिल्लामा अधिवेशन हुन सकेको छैन । हुन त प्रदेशका सर्लाही र महोत्तरीमा विवाद अझै कायम नै रहेको छ । सर्लाहीमा विवाद रहे पनि प्रतिनिधिहरुले मतदान गरे तर, महोत्तरी क्षेत्र नंं. ३ का प्रतिनिधिले मतदान गर्न पाएनन् ।


यद्यपि अधिवेशनलाई लिएर आठ वटै जिल्लामा कांग्रेसभित्र चुनावी गतिविधि पनि बढीसकेको छ । जिल्लाको नेतृत्व गर्न चाहने अकांक्षीहरु मत माग्नुका साथै आफ्नो पक्षमा माहौल बनाउनका लागि गुट उपगुटहरुले एक अर्कालाई प्रभावमा पार्ने खेल सुरु गरिसकेका छन ।

नेपाली कांग्रेस धनुषाको सभापतिका लागि पाँच जना अकांक्षी देखिएका छन् । जसमध्ये पूर्व उपसभापति विमलेन्द्र निधि समूहबाट क्षिरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पजियारले आफ्नो उम्मेदवारी पनि विधिवत रुपमा घोषणा गरिसकेका छन ।

यसबाहेक वर्तमान कार्यसमितिमा उपसभापति रहेका सन्तोष यादव, सचिव विशेश्वर यादव, पूर्व सचिव राजकिशोर सिंह र पूर्व संविधानसभा सदस्य दिनेश प्रसैला यादवले पनि सभापतिका लागि दाबेदारी प्रस्तुत गरिरहेका छन ।

वर्तमान सभापति रहेका महेशशंकर गिरी केही दिन अघिसम्म आफू पनि सभापतिको आकांक्षी रहेको बताउँदै आएपनि बुधबार मेयर पजियारलाई समर्थन जनाई अब सभापतिको दौडमा नरहेको बताएका छन् ।

सभापतिका लागि दाबेदारी प्रस्तुत गर्दै आई रहेका वर्तमान उपसभापति संतोष यादव पार्टी सभापति शेरबहादुर देउवा निकटका हुन् भने, दिनेश प्रसौला यादव कोइराला समूह, राजकिशोर सिंह र सचिव विशेश्वर यादव निधि निकट नै हुन ।

पौडेल समूहबाट अहिलेसम्म जिल्ला सभापतिका लागि आफ्नो इच्छा देखाएको छैन । सभापतिका आकांक्षी रहेकाहरु पौडेल समूहलाई रिझाउन आन्तरिक छलफललाई तीव्र पारेको कांग्रेसका एक नेताले बताएका छन ।

नाम नखोल्ने शर्तमा उनले भने, 'पौडेल समूहले आफ्नो उम्मेदवार नदिएको कारण आकांक्षी देखिएकाहरु तिनीहरुको घरमै गएर र विभिन्न होटलहरुमा गएर आफ्नोतर्फ तान्न छलफललाई तीव्र पारेका छन ।' यस बाहेक कोइराला समूहबाट अधिकारिक रुपमा उम्मेदवारी घोषणा नभएको कारण ती समूहका मतदाताहरुलाई रिझाउने प्रयास समेत भइरहेको उनको भनाई छ ।

धनुषाको एक उपमहानगर, ११ नगरपालिका, ६ गाउँपालिका गरी १८ स्थानीय तहका १६९ वडा अधिवेशनबाट छानिएर आएका झन्डै ३ हजारभन्दा बढी मतदाता छन् ।

प्रदेश अधिवेशनमा संयुक्त प्यानल बनाएका निधि–कोइराला पक्षले जिल्ला अधिवेशनमा अलग-अलग चुनावी प्रतिस्पर्धामा उतार्ने तयारीमा रहेपछि संयुक्त रुपमा जाने प्रयास समेत आन्तरिक रुपमा गरिरहेका छन् । 

उता जिल्ला अधिवेशन गर्ने तयारी भईरहँदा महोत्तरी क्षेत्र नम्बर ३ मा विवाद कायमै रहेको कारण समस्या समाधान नगरी यथास्थितिमा जिल्लाको चुनाव हुन नदिने महोत्तरीका कांग्रेसी नेताहरुको भनाई छ । नेता बजरंग नेपाली समस्या समाधानको मांग गर्दै जलेश्वर स्थित पार्टी कार्यालयमा आमरण अनशनमै बसेका छन ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x