'स्वच्छता अभियान'को नाममा प्रदेश सरकारद्वारा सार्वजनिक सम्पति अतिक्रमण
जनकपुरधाम : प्रदेश २ सरकारद्वारा संचालित ‘मुख्यमन्त्री स्वच्छता अभियान’को नाममा व्यक्ति विशेषलाई फाइदा हुनेगरी सार्वजनिक सम्पति अतिक्रमण गरेको पाइएको छ । पोखरी तथा मठ मन्दिरको जग्गामा अतिक्रमणकारीलाई बढावा दिनेगरी स्वच्छता अभियानको नाममा विभिन्न संरचना निर्माण कार्य भइरहेको सरोकारवालाहरूले आरोप लगाएका छन् ।
जनकपुरधामस्थित जानकी मन्दिर प्राङ्गणमा रहेको फुलबारी जग्गा अतिक्रमण भएको भन्दै दुई वर्षदेखि विवाद छ । सडक विस्तारको नाममा जनकपुरधाम उपमहानगरपालिकाले व्यक्तिको निजी जग्गालाई बचाउन मन्दिरको जग्गा अतिक्रमण गर्नेगरी फुलबारी तोडफोड गरेका थिए । फुलबारी जग्गा अतिक्रमण बारे नापी कार्यालयद्वारा नागरिक समाजको अगुवाइमा गुठी संस्थान र जिल्ला प्रशासन कार्यालयद्वारा कार्यदल गठन भई तीन/तीन पटक नापीसमेत भएको थियो । सो कार्यदलले मन्दिरको ४ धुरभन्दा बढी जग्गा अतिक्रमण भएको प्रतिवेदन बुझाइसकेको छ ।
प्रतिवेदन बुझाएको ६ महिना बितिसक्दा पनि विवाद समाधान हुन सकेको छैन । उपमहानगरपालिकाले निजी जग्गा बचाउन मन्दिरको जग्गा अतिक्रमण गरेको आरोप लगाइरहदा प्रदेश सरकारद्वारा अतिक्रमणलाई निरन्तरता दिइएको आरोप स्थानीय शंकर साहको छ । प्रदेश सरकारद्वारा मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत जानकी मन्दिर सौन्दर्यीकरणमा समावेशगरी विवादित जग्गामा पर्खाल लगाउन थालेका छन् । प्रदेश सरकारले विवाद समाधान नगरी उल्टै विवाद श्रृजना गरेको भन्दै नागरिक समाजका अगुवा आन्दोलित भएका छन् ।
‘जानकी मन्दिरको फुलबारी जग्गा बचाउन सरुदेखि नै लागेको छौं,’ नागरिक समाजका अगुवा मुरली मनोहर मिश्रले भने, ‘उपमहानगरपालिकाले कार्यादलले बुझाएको प्रतिवेदन कार्यान्वयन गराउन नसकेपछि प्रदेश सरकारले मन्दिर सौन्दर्यकरणको नाममा निजी जग्गा बचाउन अतिक्रमणकारीको मतियार बनेको हो ।’ विवाद समाधान नभए चरणवद्द आन्दोलन गर्ने समेत उनले बताए ।
यता गुठी संस्थान कार्यालय धनुषाले जिल्ला प्रशासन कार्यालयलाई कार्यदलले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्न माग गर्दै आइतबार पत्राचार गरेको छ । जानकी मन्दिरका साथै नजिकै रहेको कपालमोचनी पोखरीको सौन्दर्यकरणको नाममा समेत जग्गा अतिक्रमणगरी व्यक्तिलाई फाइदा हुनेगरी बाटो निर्माण कार्यअघि बढाएका छन् । करीब एक वर्षदेखि जानकी मन्दिरसँग सीता देवीको नाममा किनिएको जग्गाको बाटोका लागि विवाद थियो । उपमहानगरपालिका र जानकी मन्दिरसँग मिलेर पोखरीको जग्गामा बाटो कायम गराइ गत भदौमा जग्गाधनी सीतादेवी पक्षले बाटोका लागि पोखरीसँगै रहेका तेली कुटीको पर्खाल भत्काएपछि दुवै पक्षबीच कुटाकुटसमेत भएको थियो ।
विवाद उत्पन्न हुँदा जानकी मन्दिरले गुठी संस्थानलाई बाटो काट्न भूलवस मालपोत कार्यालयलाई सिफारिस गरिएको भनी गल्ती स्वीकार गरेका थिए भने मालपोत समेतले गुठीको सिफारिस नहुँदा नक्सामा लगत कट्टा नगरिएको र श्रेस्तामा दाखिला नभएको जवाफ दिएका थिए । जानकी मन्दिर र मालपोतको जवाफपछि बाटो निर्माण कार्य रोकिएको थियो । सोही क्रममा विवाद समाधान हुन नसक्दै मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत सो सौन्दर्यकरणको नाममा पोखरीलाई पुरेर व्यक्तिको निजी जग्गाको बाटो खुलाई दिएको मन्दिरका अध्यक्ष जगदीश साहले बताए ।
प्रदेश सरकारले निजी संस्थाको मतियार बनेर सार्वजनिक सम्पति पोखरी पुरेर अतिक्रमणलाई बढावा दिएको वैश्य कल्याण महासंघका अमरनाथ गुप्ताले आरोप लगाए । उनले भने, ‘मन्दिरले बाटोका लागि जग्गा नदिएपछि प्रदेश सरकारले एक साइडबाट पोखरी पुरेका छन् भने अर्कोतर्फ पोखरीको क्षेत्रफल कमी हुन नदिन सार्वजनिक बाटो नै अतिक्रमण गरेका छन् ।’
स्वच्छता अभियानका संयोजक ईन्जिनीयर भगवान झाले भने कुनै जग्गा अतिक्रमण नगरेको दाबी गरेका छन् । ‘जानकी मन्दिरको पर्खाल भत्किदा आवातजावतमा समस्या भएकोले उपमहानगरपालिकाको अनुरोधमा मन्दिर सौन्दर्यकरणको क्रममा पर्खाल निर्माण गरिरहेका छौं’ उनले भने, ‘जहाँसम्म प्रतिवेदन कार्यान्वयनको कुरा हो त्यो उपमहानगरपालिकाको समस्या हो हाम्रो होइन । पोखरी सौन्दर्यकरणको क्रममा घाटबाट निर्माणका लागि पोखरीका केही भाग पुरिएको हो । यसबाट स्थानीय जनतालाई फाइदा हुनेछ, सरकारलाई होइन ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया