जनकपुरका व्यवसायीलाई करोडौंको घाटा
जनकपुरधाम : कोभिड–१९का कारण प्रदेश २का व्यवसायीहरुलाई यो वर्ष दसैंले छोएन। प्रत्येक वर्ष दसैंमा लाग्ने सस्तो बजारबाट व्यवसायीहरु करोडौंको कारोबार गर्थे । तर, महामारीका कारण जनकपुरधाममा सस्तो बजार नै लगाइएन ।
गोपाल धर्मशालामा यो बेला निकै भिडभाड हुन्थ्यो। गाउँ गाउँबाट आएका उपभोक्ताहरुले भरिभराउले हुन्थ्यो । अहिले सो धर्मशाला सुनसान रहेको छ। व्यवसायीहरु सस्तो बजारमा मालसामान बेच्न महिनादिन अगाडिदेखि स्टोक गर्ने गर्थे ।
तर सस्तो बजार नलाग्दा पसलमा भएका सामान पनि बिक्री नभई थन्किएका छन् । दसैंमा लाग्ने मेला र दर्शन गर्न हजारौं दर्शनार्थीका कारण सस्तो बजारको व्यवसायी मात्रै होइन जनकपुरधाम बजारभरिका अन्य व्यवसायी समेतले लाखौंको व्यापार गर्थे ।
आम नागरिकको स्वास्थ्यको ख्याल गर्दै जिल्ला प्रशासन कार्यालयले गरेको निर्देशन बमोजिम आयोजक संस्था जनकपुर उद्योग वाणिज्य संघले व्यवसायीहरुबाट दबाव भए पनि सस्तो बजार लगाएन । संघले विगत ४३ वर्षदेखि स्थानीय गोपाल धर्मशालामा दसैँ अवधिभर सस्तो बजार लगाउंदै आएका थिए । ४३ वर्षको इतिहासमा दोश्रो पटक जनकपुरधाममा सस्तो बजार लागेन। यसअघि मधेश आन्दोलनको क्रममा २०७३ सालमा मेला लागेको थिएन।
करीब २० वर्षदेखि दसैं बजारको स्टलमा व्यापार गर्ने कपडा व्यवसायी महेन्द्र रौनियारले सस्तो बजार नलाग्दा लाखौंको घाटा भएको बताए। त्यस्तै सोही क्षेत्रमा व्यवसाय गर्ने मदन जैनले खाद्य पदार्थदेखि लुगा कपडासहित दैनिक करोडौको कारोबार हुने सस्तो बजार बन्द भएका कारण विक्रेतालाई मात्र होइन उत्पादक कम्पनीलाई समेत घाटा भएको बताए।
उनले भने, ‘विश्वव्यापी रूपमा फैलेको कोरोना महामारीले यसपालि सबै क्षेत्रलाई असर पुर्याएको छ । न त जनतासँग किनमेल गर्न पैसा छ न व्यवायीसँग पुँजी । व्यवसायीको पसलमा भएका सामानहरु समेत बिक्न सक्ने अवस्था छैन ।'
घटस्थापनादेखि दशमीसम्म चल्ने दसैँ बजार लाग्न नसकेपछि व्यवसायी मात्र होइन आम उपभोक्तामा समेत निराशा देखिएको छ । बजार दरभन्दा सस्तो मूल्यमा सामानहरु पाउने आशमा महिनौदेखि उपभोक्ताहरु पर्खाइमा बस्ने गर्थे । तर यसपालि दसैं बजार नलागेपछि किनमेलका लागि भारतीय सीमावर्तीमा बजारमा जानुपर्ने बाध्यता छ।
जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष ललितकुमार साहले यस पटक कोरोना महामारीको समयमा सस्तो बजार लगाउँदा भिड हुन सक्ने अवस्था हेरेर उपभोक्ता र विक्रेता दुवैको स्वास्थ्यको ख्याल गर्दै जिल्ला सुरक्षा समितिको निर्देशनमा बजार नलगाइएको बताए । उनले भने, 'कोभिड रोकथामका लागि जारी लकडाउनले करीब ६ महिनासम्म पीडा खपेका व्यवसायीलाई दसैं सस्तो बजारको आसा थियो । तर बजारै नलाग्दा समस्या भएको छ।'
उनका अनुसार दसैं सस्तो बजारमाप्रति व्यवसायी घटस्थापनादेखि दशमीसम्म १० लाख रुपैयाभन्दा बढीको कारोबार गर्ने गर्थे । सबैले मिलाएर करोडौंको व्यापार हुन्थ्यो । तर, यसपालिको दसैँलाई कोरोनाले खाइदियो ।
जनकपुरधाम उद्योग वाणिज्य संघका महासचिव जितेन्द्र महासेठले कोरोना संक्रमण र सीमावर्ती बजारले गदौ यहाँका व्यवसायीलाई घाटैघाटा भएको छ । लकडाउन अवधिमा व्यापार हुन नसक्दा बैंक ऋण र पसल भाडा तिर्न नसक्ने अवस्था भोगिरहेका व्यवसायी दसैंं जस्तो चाडपर्वमा समेत मर्ने अवस्थामा पुगेको छ ।
जनकपुरधाममा लाग्ने दसैंं सस्ता बजारमा यहाँका उपभोक्ता मात्र नभई छिमेकी जिल्ला महोत्तरी, सिरहा, सिन्धुली, सर्लाही, उदयपुर तथा सीमावर्ती भारतीय क्षेत्रका समेत आउने गर्थे । जसले बजारमा भरिभराउ हुन्थ्यो अहिले त्यो रौनकता हराएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया