मधेश

पाँच दलले गरेको तालाबन्दीले पिपरा गाउँपालिकाको कामकाज ठप्प

इकागज |
माघ ११, २०७८ मंगलबार ९:२६ बजे

जनकपुरधाम - महोत्तरीको पिपरा गाउँपालिकामा पाँच राजनीतिक दलले विभिन्न माग राख्दै संयुक्तरूपमा गरेको तालाबन्दी गरेको कारण तीन दिनदेखि सम्पूर्ण कामकाज ठप्प भएको छ । सर्वदलीय संयुक्त अन्दोलन परिचालन समिति बनाएर पाँच राजनीतिक दलले गरेको तालाबन्दीका कारण सम्पूर्ण काम ठप्प भएपछि सेवाग्राही मारमा परेका छन् । समितिले गाउँपालिका अध्यक्ष विक्रम चौधरीले अनियमितता गरेको र खर्च हिसाब सार्वजनिक नगरेको भन्दै कार्यालयको मूल गेटमा एक सातादेखि धर्ना दिँदै आन्दोलनमा उत्रेका हुन् ।

गाउँपालिकाको कार्यालयमा सूचनाको हक, सुशासन र पारदर्शिता कायम गर्नका लागि समितिमा लागेका दल मिलेर संयुक्तरूपमा तालाबन्दी गरेको पिपरा गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष अरुण ठाकुरले जानकारी दिए ।


त्यस्तै आन्दोलनमा रहेका लोकतान्त्रिक समाजवादी पार्टीका स्थानीय नेता रामनरेश ठाकुरले अध्यक्ष चौधरीले स्थानीय कानुन नबनाउनु, प्रदेश र संघीय कानुनको कार्यान्वयन र परिपालन नगराउनु, सुशासन कायम नगर्नु, पारदर्शिता नदेखाउनु, भ्रष्टाचारलाई बढावा दिने, आफ्नो आसेपासेलाई गाउँपालिकामा जागिर दिनेलगायतको कार्यलाई बढावा दिएको आरोप लगाए ।

उता गाउँपालिकाका अध्यक्ष विक्रम चौधरीले सर्वदलीय समितिले लगाएको सम्पूर्ण आरोप निराधार र तर्कहिन रहेको बताउँदै स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा जनाधार गुमाएका दलहरूले राजनीतिक स्वार्थ पुर्तीका लागि तालाबन्दी गरी आन्दोलनमा उत्रेका आरोप लगाएका छन् ।

अध्यक्ष चौधरीले भने, ‘म संग बहुमत छैन, सबैलाई देखाएर, मिलाएर पारदर्शी ढंगले आफै काम गर्दै आइरहेको छु ।’ आन्दोलन गरिरहेका साथीहरू यो समस्या समाधान गर्नका लागि न वार्तामा आउन पटक पटक म र सिडियो साहेबले पटक पटक बोलाए पनि नआई कार्यालयमा काम गर्न दिइरहेको छैन ।

उनले आफूले गरेका सम्पूर्ण योजना तथा गाउँसभाको निर्णय पारदर्शी गर्न तयार रहेको प्रतिवद्धता जनाए । आफूले कुनै पनि किसिमको अनियमितता गरेको भए अख्तियारसहित १६ वटा निकायमा उजुरी दिएको र यदि गलत साबित भए कारबाही भोग्न तयार रहेको बताए ।

सर्वदलीय समितिमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, लोसपा नेपाल, जनमत पार्टी छन् भने गाउँपालिकाको अध्यक्ष एमालेका हुन् । आन्दोलनकारीहरूले गाउँपालिका अध्यक्ष चौधरी, प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र प्रसाद यादव र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखको पुतला आइतबार जलाएका थिए ।


Author

थप समाचार
x