मधेश

नेकपा विवाद

पर्सा घटनाको अन्तर्य

नेतृत्वको अलमलले निम्त्याएको परिणाम

सुभाष कर्ण |
कात्तिक ८, २०७७ शनिबार १३:१८ बजे

मुकेश चौरसिया

जनकपुरधाम : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवादका कारण पर्सामा एक कार्यकर्ताको ज्यान गयो । तात्कालिन एमाले र माओवादीबीच एकता भएको दुई वर्ष गुज्रिसकेको छ तर समायोजन विवाद कायमै छ । जसको पछिल्लो उदाहरण हो–पर्सा घटना ।

एकतापछि प्रदेश, जिल्ला र नगरस्तरमा विवाद कायमै छ । यही विवादका कारण एउटा गाउँपालिका सचिव मात्र रहेका मुकेश चौरसियाले ज्यान गुमाउनु पर्‍यो । 
नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल गुटबीच बिहीबार भएको पदीय भागबण्डाको विवादले पर्सास्थित विन्दवासिनी गाउँपालिका सचिव चौरसियाको हत्या भयो । 


माओवादी समूहले एमाले समूहलाई कार्यक्रममा आमन्त्रण नगर्दा उक्त घटना घटेको एकथरी नेताहरुको बताउँछन् । कार्यक्रममा सहभागीहरु नेता कार्यकर्ताहरु पनि वास्तविक घटनालाई लुकाउने कोशिस देखिन्छ । 

करिब एक वर्षअघि नै एमाले खेमाले अध्यक्ष र माओवादी खेमाले सचिव लिने सहमति गरेर गाउँपालिका कमिटीको भागबण्डासमेत गरेका थिए । उक्त सहमति बमोजिम शपथग्रहण कार्यक्रममा कमिटीमा असन्तुष्ट पक्षले आक्रमण गरेपछि चौरसियाले ज्यान गुमाउनुपरेको नेताहरु बताउँछन् । 

दुबै पक्षबीच भएको झडपमा चौरसिया लगायत ८ जना घाइते भए । उनीहरुको उपचार वीरगञ्जस्थित नारायण अञ्चल अस्पतालमा लगियो । घाइतेमध्ये गम्भीर अवस्थामा रहेका चौरसियालाई सर्वोत्तम अस्पतालमा पठाइएको थियो भने उत्तम तिवारी र चिन्टु तिवारीको उपचार भने नेशनल मेडिकल कलेजमा गरियो । 
चौरसियाको अवस्था गम्भीर भएपछि भेन्टिलेटरमा राखियो । उपचारकै क्रममा उनले शुक्रबार बिहान ज्यान गुमाए ।  

कमिटी अध्यक्ष विक्रम चौरसिया र सचिव मुकेश चौरसियाबीच २५ सदस्यीय कमिटीको विषयमा पहिल्यैदेखि विवाद थियो । आफ्ना पक्षका कार्यकर्तालाई राख्ने विषयमा भएको विवाद नरोकिएपछि माथिल्लो दबावपछि दुबै पक्षले प्रसौनीको भाटामा कार्यक्रम आयोजना गरेको हो । तर, कार्यक्रमस्थलमै हुलदंगा मच्चियो ।

कार्यक्रमका लागि झुण्डयाइएको व्यानर समेत च्यातियो । एक्कासी लाठी प्रहार गर्न हुन थाल्यो । कार्यक्रममा उपस्थित एक नेताले इकागजसँग घटनाबारे बताए अनुसार कार्यक्रममा अध्यक्ष समूहले सुरुमा हुलदंगा मच्चाएको थियो ।

एमाले खेमाका नेताहरु झगडा गर्ने मनसायले कार्यक्रममा पुगेको वीरगञ्ज उपमहानगरपालिकाका अध्यक्ष रहवर अन्सारीसमेत बताउँछन् । उनी भन्छन्,‘सपथग्रहण कार्यक्रममा सहभागिताका लागि दुबै पक्षलाई जानकारी थियो तर समायोजनमा के कुरामा चित्त बुझेन अनि आएर सिधै मारपिट नै गर्न थालियो ।’

अर्कोतर्फ पूर्वएमालेका सांसद राजकुमार गुप्ता भने अर्कै कुरा बताउँछन् । कार्यक्रममा पूर्वमाओवादी खेमाले एमाले खेमाका नेताहरुलाई नबोलाएको कारण यस्तो अवस्था सृजना भएको उनको भनाई छ । 

यसैबीच जिल्ला अध्यक्ष प्रभु हजराले एक विज्ञप्ति जारी जारे । ‘यो कुनै गुटबीचको झडप थिएन, पार्टीभित्र असन्तुष्ट व्यक्तिहरुले यस्तो गरेका छन्, समायोजनामा पद बाँडफाँड हुँदा जसले पद पाएन उनीहरुले आफ्नो असन्तुष्टि व्यक्त गर्दा झडप भएकाे भन्दै घटनालाई दुर्भाग्यको रुप दिएका छन् ।

पार्टीसँग असम्बन्धित व्यक्तिहरु कार्यक्रम बिथोल्ने उद्देश्यले पार्टी कार्यकर्ता तथा कार्यक्रम आयोजक सदस्यहरुमाथि अचानक आक्रमण गरेको भन्दै घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरी कारवाही गर्न, मृतक चौरसियालाई सहिद घोषणा, घाइतेको उपचार लगायतका माग उनको छ । 

घटना संलग्न रहेको आशंकामा प्रहरीले  ८ जनालाई पक्राउ गरिसकेको छ । जसमा नेकपाका नेता राजुकुमार गुप्तासहित ५ जना बिहिबार राति नै रिहा भएका छन् भने देवा सहनी, सुकवीन गद्दी र अनिश मियालाई प्रहरी हिरासतमा छन् ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x