मधेश

धनुषाका ३० विद्यालयले बुझाएनन् करोडौंको हिसाब

सुभाष कर्ण |
माघ ७, २०७७ बुधबार १५:७ बजे

प्रतिकात्मक तस्वीर

जनकपुरधाम : धनुषाका ३० वटा विद्यालयकाले कामै नगरी करोडाैँ रुपैयाँ अनियमितता गरेका छन् । आर्थिक वर्ष २०७४/०७५ मा लाइब्रेरी व्यवस्थापन एवं स्थापनाका लागि फिक्सिङ्ग तथा किताब खरिद गर्न अनुदान स्वरुप सरकारबाट प्राप्त अनुदान रकमको कुनै हिसाब बुझाएका छैनन् । शिक्षा विकास समन्वय इकाई समिति धनुषाकाअनुसार धनुषाका ३० वटा विद्यालयलाई अनुदान स्वरुप पठाइएको १ करोड ८८ लाख ५० हजार रुपैयाँको हालसम्म कुनै हिसाब-किताa कार्यालयमा आएको छैन । 

लाइब्रेरी व्यवस्थापन एवं स्थापनाका लागि फिक्सिङ्ग तथा किताब खरिद गर्न अनुदान स्वरुप विद्यालयको खातामा प्रतिविद्यालय ६ लाख ५० हजारको दरले रकम पठाइएको थियो । तर हालसम्म ति विद्यालयहरूले उक्त रकम खर्चको बिल भर्पाइ तथा दाखिला प्रतिवेदन कार्यालयमा नबुझाएको शिक्षा विकास तथा समन्वय इकाई धनुषाका प्रमुख इश्वरीप्रसाद ज्ञवालीले जानकारी दिए । हालसम्म सो सामाग्री खरिदसमेत नगरेको बुझिएको उनले बताए । सो रकम हिनामिना भएको हुनसक्ने उनले आशंका गरे । 


त्यस्तै सोही आर्थिक वर्षमा शिक्षण सिकाइका लागि कम्प्यूटर इक्वीपमेन्ट तथा किट्स खरिद अनुदान विभागबाट प्राप्त स्पेसिफिकेशनअनुसार खरिद गरेको सामग्रीको दाखिला प्रतिवेदनसमेत जिल्लाका २५ वटा विद्यालयले इकाईमा बुझाएका छैनन् । सो रकमसमेत बेरुजु हुन गएको ज्ञवालीको भनाइ छ । 

ती विद्यालयहरूलाई विद्यार्थीका लागि आइसीटी माध्यमबाट शिक्षण सिकाइ गराउन कम्प्यूटर ईक्वीपमेन्ट तथा किट्स खरिद गर्न ६ लाख ५० हजारका दरले कुल १ करोड ६२ लाख ५० हजार रुपैयाँ उपलब्ध गराइएको थियो ।

कुन–कुन विद्यालयले बुझाएनन् हिसाब ?

जिल्लाको मिथिलाबिहारी नगरपालिकास्थित ललिया मावि र कजरा रमौल मावि, क्षीरेश्वर नगरपालिकास्थित इच्छापुर मावि र दिगम्बरपुर मावि, औरही गाउँपालिकास्थित परवाहा मावि, चक्कर मावि, औरही मावि र झिटकहिया माविले खर्च हिसाब बुझाएका छैनन् । 

त्यसैगरी बटेश्वर गाउँपालिकास्थित चित्रपुर मावि, विदेह नगरपालिकास्थित बफै मावि, हंसपुर नगरपालिकास्थित झटियाही मावि, टिल्ही मावि र रुदौली सोनीगामा मावि, जनकपुरधाम उपमहानगरपालिकास्थित संकटमोचन मावि, बभनगामा मावि, सोहनी मुजेलिया मावि, रुपैठबेल्ही मावि, सरस्वती मावि, सरस्वती मावि कटरैत–७, कनकपट्टी मावि र जानकी मावि पनि हिसाब नबुझाउनेमा छन् ।

सबैला नगरपालिकास्थित सिमराढीगढी मावि, मिथिला नगरपालिकास्थित हरिहरपुर मावि एवं श्री साउमावि बेङ्गाडावर, जनकनन्दनी गाउँपालिकास्थित खजुरीचन्हा मावि, गणेशमान चारनाथ नगरपालिकास्थित चिसापानी मावि, नगराइन नगरपालिकास्थित फुलगामा मावि, लक्ष्मीनिया गाउँपालिकास्थित कुम्हरौडा मावि र मुखियापट्टी मुसहरनिया गाउँपालिकास्थित तुल्सियाही माविले पनि खर्च हिसाब बुझाएका छैनन् ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x