कडा सुरक्षाबीच धनुषामा निर्वाचन आयोगको कार्यक्रम
जनकपुरधाम : दलहरूको विरोधका कारण धनुषामा कडा सुरक्षाबीच निर्वाचन आयोगको कार्यक्रम सम्पन्न भएको छ । दलहरूको विरोधकाबीच मंगलबार जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक (दाबी विरोधसमेत) सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको हो । कार्यक्रमस्थलमा सहभागीभन्दा तेब्बर संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । कार्यक्रममा नेपाली कांग्रेस र जनमत पार्टी बाहेक कुनै दलले सहभागिता जनाएनन् ।
आगामी वैशाखमा दुई चरणमा हुने भनिएको निर्वाचनको विरोधमा रहेका जनता समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी दाहाल–नेपाल समूहले निर्वाचन आयोगद्वारा आयोजित कार्यक्रमको कडा रुपमा विरोध गरेका छन् । जनता समाजवादी पार्टी धनुषाका अध्यक्ष पशुपति यादवले कार्यक्रम बारे आफूलाई जानकारी भए पनि विरोधका कारण सहभागी नभएको बताए । ‘गैरसंवैधानिक र अलोकतान्त्रिक प्रक्रियाबाट हुन गइरहेको निर्वाचनविरुद्ध हामी आन्दोलनमा छौं’ उनले भने, ‘निर्वाचन सम्बन्धी हुने हरेक क्रियाकलाप र कार्यक्रमको हामी विरोध गर्नेछौं ।’ त्यस्तै दाहाल–नेपाल समूहका दिपक यादवले पनि निर्वाचन सम्बन्धी कार्यक्रममा आफूहरू सहभागी नहुने बताए ।
निर्वाचन आयोगको कार्यक्रम सुरु
आयोगले भने मतदाता नामावली अद्यावधिक गर्ने कार्यक्रम माघ १५ गतेदेखि सुुरु गर्न लागेको छ । माघ २१ गतेसम्म स्थानीय स्तरबाट संचालन हुने सो कार्यक्रमका लागि स्थानीय तहबाट सहायक मतदाता अधिकारीको रुपमा खटाइ नामावली अद्यावधिक कार्यक्रम संचालन गरिने आयोगका धनुषा प्रमुख पुष्पा झाले जानकारी दिइन् । उनकाअनुसार यो अवधिमा ठेगाना त्रुटि भएको, दोहरो नाम भएको, मृत्यु भइसकेका वा बसाइसराइको विवरण सच्याउने कार्य कार्य हुनेछ ।
स्थानीय तहबाट खटिएका अधिकारीबाट सिफारिस भएर आएको त्रुटि आयोगद्वारा सच्याई अन्तिम नामावली माघ २६ गते र दोहरो नामावली सच्याइएकोसहित फागुन २ गतेसम्म प्रकाशन हुने उनले जानकारी दिइन् ।
कार्यक्रम अनुसार माघ १५ गते मतदाता नामावली प्रकाशन, १६ देखि १८ गतेसम्म त्रुटि सच्याउने, दोहरो नामावली, मृत्यु भएका वा नागरिकता त्याग गरेका वा झुटाे विवरण पेशगरी मतदाता बनेकोलगायतका प्रमाणसहित निवेदन लिइनेछ ।
सो निवेदनमाथि छानबिनगरी १९ गते आरोपितलाई सफाइको मौका दिइने, २० गते सो विवरण जिल्ला प्रमुख मतदाता अधिकारी समक्ष स्थानीय तहबाट विवरण पेश गरिने र ती सबै निवेदनविरुद्ध जाँचबुझगरी माघ २६ गते अन्तिम नामावली प्रकाशन गरिने छ ।
धनुषामा ६ हजार बढी मतदाता थपिए
आगामी वैशाख महिनामा हुने निर्वाचनका लागि पछिल्लो निर्वाचनभन्दा धनुषामा ६ हजार ४ सय ७२ जना मतदाता थपिएका छन् । २०७४ मा ४ लाख ४ हजार ६ सय ७४ मतदाता रहेकोमा अब मतदाता संख्या ४ लाख ११ हजार १ सय ४६ पुगेको छ ।
कार्यक्रममा नेपाली कांग्रेसका प्रतिनिधि विशेश्वर यादवले निर्वाचनअघि घर दैलो कार्यक्रमगरी नामावली संकलन नगरेको भन्दै विरोध जनाएका थिए । यादवले मतदाता नामावली संकलन कार्यअघि बढाउन माग गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया