पर्सा घटना
पाँचाैं दिन पनि प्रदर्शन जारी, थप कडा आन्दोलन गर्ने चेतावनी
मुकेश चौरसिया
जनकपुरधाम : पर्साको विन्दवासिनी गाउँपालिकाका नेकपा सचिव मुकेश चौरसियाको हत्यामा संलग्नविरुद्ध किटानी जाहेरी लिन माग गर्दै ५औं दिन पनि आन्दोलन जारी रहेको छ । नेकपा नेता तथा प्रतिनिधिसभा सदस्य मातृका यादवको अगुवाइमा जिल्ला प्रहरी कार्यालय अगाडि प्रहरीविरुद्ध मंगलबार पनि धर्ना दिइएको हो।
प्रहरीले दोषीलाई उम्काउन खोजेको भन्दै नेकपा नेता कार्यकर्ताहरूले जारी चरणबद्ध आन्दोलनलाई पाचौं दिन पनि निरन्तरता दिएका हुन्। सांसद यादवले घटनामा संलग्न दोषी उम्काउन प्रहरीले जाहेरी समेत नलिएको आरोप लगाए।
प्रहरीले पूर्व सांसद राजकुमार गुप्ताको नाम हटाएर जाहेरी ल्याउनुस् भन्दै आएका छन् । तर घटनाको मुख्य योजनाकार नै गुप्ता रहेको सांसद यादवको दाबी छ। 'हामीले घटनामा ‘संलग्न अन्य व्यक्तिसहितको नाममा मुद्दा दर्ता गराउन खोजेका हौं ।’ सांसद यादवले भने। ' तर प्रहरीले लिन मानेककाे छैन।'
उनले प्रधानमन्त्री केपी शर्मा ओलीको दबावका कारण प्रहरी मुकदर्शक बनेको आरोप समेत लगाए। पूर्वउद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीसमेत रहेका सांसद यादवले प्रहरीले जाहेरी नलिए थप कडा आन्दोलनको चेतावनी दिए।
यो पनि पढ्नुहोस्
पर्सा घटनाको अन्तर्य
शुक्रबारदेखि नै किटानी जाहेरी दर्ताका लागि निरन्तररुपमा दवाव दिदैँ नेकपा पर्साले आन्दोलन गर्दै आएको छ । तर हालसम्म पनि मुद्दा दर्ता गर्न प्रहरीले आनाकानी गर्दै आएको आन्दोलनकारी भनाइ छ। प्रदर्शनकारीहरुले प्रहरी प्रशासन र सरकारविरुद्ध चर्को नाराबाजी गर्दै आएका छन्।
नेकपा पर्सा विन्दवासनी गाउँपालिका कमिटीको गत बिहीबार आयोजित सपथ ग्रहण कार्यक्रममा भएको झडपमा परी नेकपा गाउँकमिटी सचिव समेत रहेका जिल्ला सदस्य मुकेश चौरसियाको मृत्यु भएको थियो । सो घटनालाई पार्टीको जिल्ला कार्यसमितिले बाहिरबाट आएका अज्ञात समूहद्वारा घटना घटाइएको भन्दै आएका छन् ।
सो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पूर्वसांसद राजकुमार गुप्ता, हनिफ मियाँ गद्दी, सोकदिन मियाँ गद्दी र देवा सहनीसहित ८ जनालाई पक्राउ गरेको थियो । तर सोही दिन गुप्ता सहित ५ जनालाई रिहा गरिसकेको छ भने हनिफ मियाँ गद्दी, सोकदिन मियाँ गद्दी र देवा सहनी प्रहरी नियन्त्रणमै रहेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया