मधेश

अख्तियारको छापापछि चालक अनुमति पत्रको परीक्षा स्थगित

सुभाष कर्ण |
माघ १४, २०७७ बुधबार १७:१ बजे

जनकपुरधाम : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेपछि यातायात व्यवस्था कार्यालय जनकपुरधामले चालक अनुमति पत्रको लिखित तथा प्रयोगात्मक परीक्षा स्थगित गरेको छ । कार्यालयले बुधबार (माघ १४ गतेदेखि १६ गतेसम्म) हुने भनिएको परीक्षा कार्यव्यस्तताको कारण देखाइ अनिश्चितकालका लागि स्थगित गरेको हो । बुधबार कार्यालयका निमित प्रमुख विरेन्द्र साहले एक सूचना प्रकाशितगरी अर्को सूचना प्रकाशन नहुञ्जेलसम्मका लागि परीक्षा स्थगित गरिएको जानकारी दिएका छन् ।

मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टाेलीको ७ घण्टे अप्रेशनपछि यातायात व्यवस्था कार्यालयबाट २ लाख ७३ हजार ८ सय रुपैयाँसहित एक कार्यालय सहयोगी र एक बिचौलियालाई नियन्त्रणमा लिएको थियो । सवारी चालक परिचय–पत्र वापत् उठाएको घूसको रकम कार्यालयभित्रै रहेको गोप्य सूचनाको आधारमा अख्तियारको बर्दिबास कार्यालयबाट खटेको टोलीले छापा मारेको थियो ।


अख्तियारले करिब ७ घण्टाको अनुसन्धानपछि कार्यालय सहयोगी भोगेन्द्र कापरलाई २ लाख २३ हजार ८ सय रुपैयाँ र बिचौलिया राज किशोर भगतलाई ५० हजार रुपैयाँसहित नियन्त्रणमा लिएको थियाे । उनीहरूमाथि कारबाही प्रक्रिया अघि बढाइएको अख्तियार बर्दिबास कार्यालयका सूचना अधिकारी मनिराम ज्ञवालीले जानकारी दिए ।

याे पनि 

यातायात कार्यालय जनकपुरमा अख्तियारको छापा

 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x