जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा कर्मचारीहरूले लगाएको ताला प्रहरीले तोड्यो
जनकपुरधाम : धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा आन्दोलनरत कर्मचारीहरुले लगाएको ताला बुधबार प्रहरीले तोडेको छ । गत एक महिनादेखि वक्यौता पारिश्रमिक संचय कोष रकमको माग गर्दै आएका कर्मचारीहरूको माग कलेज व्यवस्थापक नसुनेपछि बुधबार बिहान ताला लगाएका थिए । बिहान लगाएको ताला प्रहरीले दिउँसो तोडेको हो ।
मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारीहरुले ८ महिनादेखि बाँकी पारिश्रमिक र ६ वर्षको संचय कोषको रकम माग गर्दै ओपीडी सेवा र प्रशासनिक सेवा बन्द गरी असोज १२ गतेदेखि कलेज परिसरमै धर्ना दिदैं आएका छन् ।
गत भदौ ३० महिनामा कलेज व्यवस्थापक र आन्दोलनरत कर्मचारीबीच असोज ४ गतेसम्म लेखापाल राखि वक्यौता रकमबारे खर्च हिसाब सार्वजनिक गर्ने र असोज ३० सम्म दशैं खर्च, संचय कोष र पारिश्रमिकलगायतका सम्पूर्ण रकम भुक्तानी गर्ने सहमति जिल्ला प्रहरी कार्यालय धनुषामा भएको थियो । त्यो सहमतिपछि कर्मचारीहरुले भदौ २६ गतेदेखि लगाएको ताला खोलेका थिए । तर, कलेज व्यवस्थापकले सहमति अनुसार वक्यौता खर्च हिसाब सार्वजनिक नगरेपछि आन्दोलतरत कर्मचारीहरूले उमेश यादवको संयोजकत्वमा कर्मचारी हकहित संरक्षण समिति गठन गरेर असोज १२ गतेदेखि माग पूरा गराउन दबाब दिन धर्नामा बसेका थिए । पिडीत ४० कर्मचारी नियमित कलेजको प्रशासनिक कार्य अवरुध्द गरी धर्नामा बस्दै आएका छन् । कलेज व्यवस्थापकले माग पूरा गर्नुको साटो आन्दोलनरत कर्मचारीहरुलाई कारवाहीको प्रक्रिया अघि बढाएको छ ।
दसैं अवधिभरिमा कलेज व्यवस्थापकले आन्दोलनरत कर्मचारीमध्य कुलदिप साह, जयकुमार यादव, राजनारायण यादव र अञ्जु पटेललगायत कर्मचारीलाई निलम्बन गरेको कर्मचारी संघर्ष समितिका संयोजक यादवले जानकारी दिए ।
कर्मचारीहरूको आन्दोलनबारे कलेजका वरिष्ठ प्रमुख प्रशासकीय अधिकृत दयानन्द झाले कर्मचारीहरुको वक्यौता रकम दिने सहमति भइसकेपछि कारवाहीमा परेका कर्मचारीहरु आन्दोलनमा रहेको बताए ।
कर्मचारी संघर्ष समितिका संयोजक यादवले २०७५ सालदेखि नै कर्मचारीहरूको वक्यौता रकम चुक्ता गर्न पटक-पटक आन्दोलन गर्दा कलेज व्यवस्थापनले माग पूरा गर्न सहमति गरेपिन कार्यान्वयन नगरेको बताए । भएका सहमति कार्यान्वयन नभएपछि बाध्य भएर पुनः आन्दोलन गरेको यादवले इकागजसँग बताए । उनले प्रहरीले आफ्नै रोहबरमा भएको सहमति कार्यान्वयन गर्न कलेज व्यवस्थापनलाई दबाब दिनुको साटो द्वेध चरित्र प्रदर्शन गरिरहेको बताए ।
आन्दोलनरत कर्मचारीहरूले कात्तिक १६ गतेदेखि आकस्मिक सेवा समेत बन्द गरेर आमरण अनसनमा बस्ने चेतावनी कलेज प्रशासनलाई दिएका छन् ।
कर्मचारीहरुको ६ वर्षको दसैं पेश्की, ८ महिनाको पारिश्रमिक, ६ वर्षदेखिको संचय कोषलगायतका रकम बाँकी छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया