मधेश

ढल्केवर नापी कार्यालय : भवन छ, कर्मचारी छन्, काम छैन !

सुभाष कर्ण |
फागुन १, २०७७ शनिबार १६:३५ बजे

जनकपुरधाम : धनुषाको ढल्केवरस्थित नापी कार्यालयको भवन सुविधा सम्पन्‍न छ । कर्मचारीहरू पनि पर्याप्त छन् । तर, यो नापी कार्यालयले कार्यसम्पादन गर्न सकेको छैन । कारण हो- कागजातको अभाव ।

पूर्व–पश्चिम महेन्द्र राजमार्ग छेउको २० कोठे भवनमा नापी कार्यालय संचालन छ । यो कार्यालयमा दैनिक काम नहुँदा १५ जना कर्मचारी हाजिर गरेर दिन बिताउने गरेका छन् । ४ वर्षदेखि यो कार्यालयमा आवश्यक कागजातको आभाव छ । जसको कारण यहाँ दैनिक काम हुँदैन ।


नापी कार्यालय जनकपुरले आवश्यक कागजात तथा सामाग्री बरबुझारथ नगर्दा नापी कार्यालय ढल्केवर काम विहिन बन्न गएको कार्यालयका कर्मचारीहरूले बताएका छन् । ०७२ असोज १४ गतेको मन्त्रिपरिषद् बैठकले धनुषाको ढल्केवरमा नापी कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार ०७३ माघमा यो कार्यालय स्थापना गरियो । तर, स्थापनाको ४ वर्ष बितिसक्दा पनि यहाँ आवश्यक कागजातको अभाव छ ।

नागरिकलाई सहज रुपमा सेवा दिने उद्देश्यले स्थापना भएको यो नापी कार्यालय आवश्यक कागजात आभावमा सञ्चालन हुन नसक्दा सरकारको वार्षिक लाखौं रकम खेर गइरहेको नापी कार्यालय ढल्केवरका प्रमुख राजेन्द्र साहले जानकारी दिए ।

'सेवा क्षेत्र तोकिएका ठाउँको अभिलेख तथा आवश्यक कागजात बरबुझारथ गर्न नापी कार्यालय जनकपुरलाई पटक–पटक ताकेता गर्दा पनि जनकपुरस्थित कार्यालयले कुनै चासो लिएको छैन,' नापी अधिकृत साहले भने,'हामीले जनकपुर कार्यालयसँगै विभागमासमेत कयौँ पटक ताकेता गर्‍यौँ तर त्यसको कुनै सुनवाई भएन । अभिलेख तथा आवश्यक कागजात दिन नापी कार्यालय जनकपुर आनाकानी गर्दै आएको छ ।'

उता नापी कार्यालय जनकपुरका प्रमुख सुमन मिश्राले  ढल्केवरमा मालपोत कार्यालय नभएकाले कामकाज गर्न समस्या हुन सक्ने बताए । उनले भने,'मालपोत बिना नापी कार्यालयले काम गर्न सहज छैन, त्यहाँ काम शुरू भएपनि नापी बाहेक मालपोतको काम गराउन जनकपुर नै आउनुपर्छ यसले सेवाग्राहीलाई सहज होइन झन्झटिलो हुनेछ, त्यही भएर अहिलेसम्म काम सुरू गरिएको छैन ।'

सेवा पाउन नसक्दा हालको मिथिला नगरपालिका, गणेशमान चारनाथ नगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका, धनुषाधाम नगरपालिका र बटेश्वर गाउँपालिका क्षेत्रका  स्थानीय निराश छन् । यो कार्यालयमा नापी अधिकृतको नेतृत्वमा सर्भेक्षक ५ जना, अमिन १ जना, सह–लेखापाल १ जना, कम्प्यूटर अपरेटर १ जना, कार्यालय सहयोगी ५ जना, स्वीपर १ जना गरी कूल १५ कर्मचारी कार्यरत छन् । 

नापी कार्यालयका एक कर्मचारीका अनुसार सबै कर्मचारीको तलबमा वार्षिक ३९ लाख ४ हजार ८ सय रुपैयाँ र कार्यालयको घर भाडामा ४ लाख ६२ हजार रुपैयाँ खर्च भइरहेको छ ।यता मिथिला नगरपालिकाका मेयर हरिनारायण महतोले नापी कार्यालयको कागजातको लागि कयौँ पटक पहल गरे पनि मालपोतकै बहानामा नापीको अभिलेख तथा कागजात उपलब्ध गराउन जनकपुर कार्यालयले आनाकानी गरिरहेको आरोप लगाएका छन् ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x