मधेश

केपी ओलीको छोरा हुँ भन्‍दै रेलवे महाप्रबन्धक भट्टराईले दिए अपहरण गर्ने धम्‍की

सुभाष कर्ण |
फागुन ३, २०७७ सोमबार ९:२६ बजे

जनकपुरधाम : प्रदेश-२ का प्रमुख तिलक परियारका स्वकीय सचिव अनिल पासवानलाई नेपाल रेलवेका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले अपहरण गर्ने धम्की दिएका छन् । प्रदेश प्रमुख परियारको निर्देशनमा रेलवे सञ्चालनका बारेमा जानकारी लिन खोज्दा महाप्रबन्धक भट्टराईले पासवानलाई गालीगलौज गरी अपहरणको धम्की दिएका हुन् ।

रेलवे सञ्चालनका सम्बन्ध जानकारी लिन खोज्दा महाप्रबन्धक भट्टराई आफु केन्द्रीय सरकार मातहत काम गर्ने भएकोले प्रदेश सरकारसँग छलफल नै नगर्ने भन्दै गाली गलौजमा उत्रेका छन् । इकागजलाई प्राप्त अडियो संवादमा महाप्रबन्धक भट्टराईले म रेलवेको महाप्रबन्धक हुँ बर्दिबास मेरो घर हो तिमीलाई एक घण्टामै अपहरण गराई दिन्छु भनेका छन् । दुवैबीचको चर्काचर्कीमा अश्लील गालीगलैजसमेत भएको छ । 'म केपी ओलीको छोरा हुँ मलाई तिमी केही बिगार्न सक्दैनौ' भट्टराईले भनेका छन् ।


संवादको क्रममा अपहरणको धम्कीपछि पासवानले पनि ज्यान मार्ने धम्की दिएका छन् । दुवैले एकअर्कालाई अश्लील गालीगलैज समेत गरेका छन् । अडियोमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल र ओलीको मान्छे भन्‍ने आरोप प्रत्यारोप पनि सुन्‍न सकिन्छ ।

करिब ४ मिनेटको सो अडियोमा चर्को आरोप प्रत्याआरोपमा उत्रिएका उनीहरुले राजनीतिक शक्ति र नेताको आडमा तिब्र आक्रोस पोखेको सुनिन्छ । महाप्रबन्धक भट्टराई प्रधानमन्त्री केपी ओली निकट हुन भने पासवान नेकपा अध्यक्ष पुष्पकमल दाहाल निकट हुन् । पासवान दाहाल-माधव पक्षका युवा संघका केन्द्रीय सदस्य समेत हुन् ।

यस सम्बन्धमा अनिलसँग बुझ्दा पछि फोन गर्छु प्रतिक्रिया दिन मानेनन् भने घटनापछि भट्टराईको मोबाइल अफ छ । तर भट्टराईले समाजिक सञ्‍जाल फेसबुकमा माओवादी हो ठानेर पटक पटक काटमार गर्छु धम्की दिँदा आफुले पनि गाली दिएको भन्‍ने प्रतिक्रिया दिएका छन् ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x