प्रदेश २ सरकारको तीन वर्षे उपलब्धी
५१ किलोमिटर सडक कालोपत्रे, ३२० किलोमिटर निर्माण
तीन वर्षे कार्यकाल सफल र उपलब्धीमुलक रहेको मुख्यमन्त्रीको दाबी
जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले तीन वर्षे कार्यकाल उपलब्धीमुलक रहेको दाबी गरेका छन् । ३ वर्ष पूरा गरेको अवसरमा सोमबार पत्रकार सम्मेलनगरी मुख्यमन्त्री राउतले तीन वर्षमा उपलब्धीमुलक काम गरेकाले कार्यकाल सफल रहेको दाबी गरे ।
कर्मचारी आभाव र सुरक्षाकर्मी आफू मातहत नभए पनि प्रदेशमा सुशासन र शान्ति सुरक्षा कायम गर्न सफल भएको उनको भनाइ छ । तीन वर्षको अवधिमा कर्मचारी व्यवस्थापन, भौतिक पूर्वाधार विकास, कृषि, सिचार्इँ, सडक, राष्ट्रिय गौरवको योजना स्वास्थ्य विज्ञान प्रतिष्ठान, बेटी बचाउ बेटी पढाउ, कानून निर्माण, स्वास्थ्य तथा शिक्षामा सुधार र कोभिड–१९ जस्ता महामारीलाई नियन्त्रणलगायतमा अपेक्षाभन्दा बढी काम गरेको मुख्यमन्त्री राउतको दाबी छ ।
प्रदेश सरकारले बेटी बचाउ बेटी पढाउ कार्यक्रम अन्तर्गत छोरी बिमा, छात्रा छात्रवृति, छात्राहरूलाई साइकल वितरणलगायतका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरेको, छोरीहरूलाई सबै निकायमा पहुँचको लागि ५० प्रतिशत आरक्षणको व्यवस्था, निशुल्क लोकसेवा आयोगको तयारी कक्षा, छात्रामैत्री शौचालयको व्यवस्थालगायतका कार्यक्रम सम्पन्न गरेको मुख्यमन्त्री राउतले जानकारी दिए ।
त्यस्तै मुख्यमन्त्री स्वाच्छता अभियानअन्तर्गत पर्यटनलाई बढावा दिन २७ वटा पोखरी र प्रदेशस्थित मठ मन्दिरको सौन्दर्यकरण, विभिन्न सार्वजनिक स्थलहरूमा ६० वटा सार्वजनिक शौचालय निर्माण, जनकपुरका उत्तरी भेग एवम् सिराहा जिल्लामा २० वटा ईनार निर्माण, एकसय वटा सामुदायिक विद्यालयमा खानेपानीको सुविधा र एक सय ५० वटा हयाण्ड पम्प जडान गरिएको बताए ।
मधेश आन्दोलनको क्रममा सहादत प्राप्त गरेका नागरिकको सम्मान र स्मरण स्वरुप वीरगंज महानगरपालिकाको तिलाबेमा मधेश आन्दोलन सहिद स्तम्भ तथा पार्क निर्माणको कार्य सुरु र आन्दोलनका क्रममा घाइते व्यक्ति तथा पीडित परिवारलाई राहत उपलब्ध गराउनुका साथै सिहद परिवारलाई रोजगारको व्यवस्था गरिएको उनले बताए ।
कानुनतर्फ ३९ वटा विधेयक प्रमाणित भई कानून निर्माण भएको, २२ वटा विधेयक प्रदेश सभाको विधायन समितिमा विचाराधीन अवस्थामा रहेको, कानून कार्यान्वयनका लागि प्रदेश प्रहरी ऐन अन्तिम चरणमा रहेको, स्वास्थ्य विज्ञान प्रतिष्ठान र संचार क्षेत्रतर्फ मिडिया कान्सिल, मिडिया प्राद्यिकरण, चलचित्र बोर्ड तथा लोकसेवा आयोगमा पदाधिकारी नियुक्तगरी कार्यअघि बढाइएको उनले जनाए ।
भौतिक निर्माणतर्फ करीब ५१ किलोमिटर कालेपत्रेसहित ३ सय २० किलोमिटर सडक निर्माण, बजार सेड निर्माण, १४ वटा कल्भर्ट निर्माण, विभिन्न स्थानहरूमा ३० वटा पुल निर्माणको क्रममा रहेको र २ सय ४० वटा डिप टयूबेल तथा ३३ वटा पावर ड्रिल टयूबेल निर्माण सम्पन्न भई साढे ५ हजार हेक्टर थप जमिन सिचाईँ सुविधा पुर्याइएकोे उनले सुनाए ।
कृषितर्फ कृषकहरूलाई विभिन्न तालिमको व्यवस्था, संक्रमणकालीन अवस्थामा कोभिडले मार्कामा परेका किसानहरूलाई ऋण ब्याज अनुदान, स्वरोजगारका लागि किसानहरूलाई भैंसी वितरण, प्रदेशका विभिन्न स्थानमा कोल्डस्टोर स्थापना कार्य जारी रहेको उनले बताए ।
तीन वर्षमा संघ सरकारबाट सेवा प्रवाह तथा विकास गतिविधि सञ्चालन गर्न १ खर्ब ७ अर्ब बजेट व्यवस्था गरिएकोमा प्रदेश भित्रका १३६ स्थानीय तहहरूलाई यस अवधिमा वित्तीय हस्तानतरणमार्फत ४ अर्ब ७७ करोड समानीकरण, सशर्त, समपुरक र विशेष अनुदान तथा राजश्व बाँडफाँडबाट उपलब्ध गराइएको छ भने वित्तीय हस्तान्तरण, राजश्वको बाँडफाँट र प्रदेशको आन्तरिक राजश्व समेतबाट यस अवधिमा प्रदेश सञ्चित कोषमा रु.५७ अर्व प्राप्त भएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया