प्रतिपक्षीका नजरमा प्रदेश २ सरकारका तीन वर्ष
गफै ठूला, न नाम टुंगियो न राजधानी
जनकपुरधाम : प्रदेश २ सरकारका प्रतिपक्षी दलहरूले सरकारको तीन वर्षे कार्यकाल गफैगफमा बितेको आरोप लगाएका छन् । उनीहरूले ३ वर्षे कार्यकालमा परिणाममुखी कामभन्दा कार्यकर्ता पोस्ने र जनतालाई सपना देखाउने काम मात्रै भएको आरोप लगाए । प्रदेश सरकारले उपलब्धीका रूपमा व्याख्या गरेका टुक्रे योजनालाई प्रतिपक्षी दलका नेताहरूले सस्तो लोकप्रियताको संज्ञा दिएका हुन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा (दाहाल नेपाल) समूहका नेता शत्रुध्न महतोले प्रदेश सरकारको तीन वर्षको उपलब्धी देखिन नसकेको बताए । ‘प्रदेश सरकार त ओली भन्दा पनि ठूलो गफाडी निस्क्यो । जनतालाई ठूल्ठूला सपना देखाए, तर काम र उपलब्धी शून्यमा सीमित रह्यो ।’
तीन वर्षमा प्रदेश सरकारले नाम र राजधानीसमेत तोक्न नसकेको उनले बताए । ‘जनतालाई मधेश प्रदेश भनी तत्कालीन सत्तारुढ दलहरूले आन्दोलनमा होम्याए । तर कुनै नाम दिन सकेनन् । दुई नम्बरी प्रदेशमै सीमित राखे । न राजधानी नै टुंगो लगाउन सकेको छ’ उनले भने ।
सहिद परिवारलाई एक परिवार एक रोजगार, साना मझौला उद्योग स्थापना, कृषिमा हरित क्रान्तिलगायतका ठूलठूला गफ गरे पनि उपलब्धी नदेखिएको उनले बताए ।
त्यस्तै नेकपा (ओली) समूहका नेता एवं प्रदेश सभा सदस्य रामचन्द्र मण्डलले कमिसनका लागि खुद्रा योजनामा प्रदेश सरकार सीमित रहेको बताए । ‘प्रदेशले गौरव गर्ने खालका एउटा पनि योजना संचालन गर्न सकेन,’ उनले भने, ‘सत्तारुढ दलकै विवादले प्रदेशको नाम र राजधानी तोक्न सकेन ।’
नेता मण्डलले चुरे क्षेत्रमा ५ करोड लगानी गरे पनि त्यसबाट कस्तो परिणाम आयो जनता अनभिज्ञ रहेको बताए । प्रदेश सरकारले ठूलो सफलताको रूपमा हेरेको बेटी बढाउ, बेटी बचाउ अभियान पनि सस्तो लोकप्रियता कमाउने काम मात्रै भएको उनले बताए ।
अर्का प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता राम सरोज यादवले सरकारले सार्वजनिक गरेको तीन वर्षको उपलब्धी गफको पुलिन्दा र भ्रष्टाचारको पराकाष्ठा बाहेक केही नभएको बताए । उनले पिछडिएको क्षेत्रमा लगानी हुनुपर्नेमा त्यो नगरेर कमिसनका लागि दलका नेता कार्यकर्ताहरूमार्फत उपभोक्ता समिति बनाएर काम गराएर बजेटको दुरुपयोग गरेको आरोप लगाए ।
‘प्रदेश सरकार मठ मन्दिर, पोखरीको सौन्दर्यकरण, पिसिसी ढलान, ग्राभेललगायतका वडा कार्यालयले गर्ने खुद्रा काम गरेर युद्ध जिते जस्तै गरिरहेको छ,’ उनले भने, ‘आम जनता प्रत्यक्ष रूपमा लाभान्वित हुन सक्ने वा तिनीहरूको जीवन उक्सान आयआर्जन तथा शिक्षा स्वास्थ्यमा एउटा पनि उपलब्धिमुलक काम गर्न सकेको छैन’ उनले भने ।
कोभिड नियन्त्रणको नाममा मास्कदेखि पिसीआर मेसिनलगायतका सामाग्री खरिद र क्वारेन्टिन तथा आइसोलेसनका नाममा करोडौ रकम खर्चिएको सरकारले बताएको छ । तर, त्यसले सत्तारुढ दलका नेता कार्यकर्ता बाहेक आम नागरिकले लाभ लिन नसकेको प्रतिपक्षी दलका नेताहरूको आरोप छ । सामाग्री खरिदमा करोडौको भ्रष्टाचार भएको समाचार मिडिष्यामा आए पनि भ्रष्टाचारीहरूलाई कारबाही त परै जाओस् छानबिनसमेत नगरेको उनीहरूको आरोप छ ।
ठूल्ठूला सपना देखाएर आकर्षण नारा लगाए पनि कार्यान्वयन हुन नसकेको नेता यादवले बताए । तीन वर्षको अवधिमा मन्त्री र सत्तारुढ दलका नेता कार्यकर्तालाई समृद्धि आए पनि जनतामा नआएको उनले बताए । प्रदेशमा बलात्कारलगायतका महिला हिंसाका घटना झन बढेको भन्दै शान्ति सुरक्षाका लागि प्रदेश प्रहरी गठन भए पनि अपराधिक क्रियाकलाप नियन्त्रण गर्न नसकेको उनले आरोप लगाए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया