मधेश

सहारा खोज्दै वृद्धाश्रम : भवन बनाउने र भाडा उठाउने प्रदेश मन्‍त्रीकाे योजना

सामाजिक विकास मन्त्री साह भन्‍छन्, प्रत्येक वर्ष भीख जस्तो रकम दिन सकिदैन

सुभाष कर्ण |
फागुन ७, २०७७ शुक्रबार १५:४८ बजे

जनकपुरधाम : वृद्धअवस्थामा अरु बेलाभन्दा बढी हेरचाहको खाँचो हुन्छ । तर यही अवस्थामा सन्तान र आफन्तबाट बहिष्कृत भएपछि वृद्धाश्रम नै प्रमुख आश्रय स्थल बन्छ । सन्तान र आफन्तबाट बहिस्कृत वृद्धाहरूका लागि प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा जानकी वृद्धाश्रम सञ्चालित छ । तर, अरुलाई सहारा दिने वृद्धाश्रम नै राज्यको उपेक्षामा परेपछि आफै सहारा खोजी रहेको छ ।  

वि.स २०५३ सालदेखि सञ्चालित आश्रम मुलुक संघीयतामा गएपछि सहाराको खोजीमा छ । विगत दुई वर्षदेखि कुन दाताले सहयोग गर्ला भनेर दिनहुँ पर्खाइमा हुन्छ । नेपाल सरकारको अनुदानबाट सञ्चालित आश्रमले गत दुई वर्षदेखि सहयोग रकम पाएको छैन । वृद्धाश्रम प्रदेश सरकारको जिम्मा गएपछि खर्च दिन छाडिएको हो । दुई दशकभन्दा पुरानो वृद्धाश्रमले सरकारबाट वार्षिक ४/५ लाख रुपैयाँ आर्थिक सहयोग पाउँदै आएको थियो ।


जनकपुरधाम-८ स्थित रामानन्द चौक नजिक अढाइ कट्ठा क्षेत्रफलमा दुई तल्ले भवनमा सञ्चालित वृद्धाश्रम राज्यको बेवास्ताका कारण मारवाडी सेवा समितिलगायतका सामाजिक संस्थासहितका दाताहरूको भरमा जेनतेन चलिरहेको छ ।  १८ जना वृद्धा रहेको आश्रममा तिनको भरणपोषणका लागि ६ जना कर्मचारी छन् । वृद्धाहरूको सेवा र स्याहारमा खटिएका कर्मचारीहरूले समेत दुई वर्षदेखि तलब पाएका छैनन् । 

राज्यबाट आउने सहयोग बन्द भएपछि वृद्धाहरूको भरणपोषणमा समस्या भएको  सञ्चालक समितिका सदस्यहरू बताउँछन् । सञ्चालकलाई दिनहुँ दूध, चामल, दाल, पिठो, ग्यास र औषधिलगायतका सामाग्रीको दुई वर्षदेखिको बक्यौता रकम भुक्तानीका लागि ताकेता आइरहेको छ ।

वृद्धाहरूको स्याहारमा खटिने ६ जना कर्मचारुीले पनि दुई वर्षदेखि तलब पाएका छैनन् । आश्रममा खटिने कर्मचारीहरू मध्ये स्वीपरको मासिक साढे सात सय, भाँडा माझ्नको एक हजार, भान्सेको दुई हजार र स्याहारका लागि खटिने कर्मचारीको ४ हजार रुपैयाँ मात्रै तलब छ । न्यून तलब रहे पनि गत दुई वर्षदेखि उनीहरूले तलब पाएका छैनन् । कर्मचारीहरुले न्यून तलबमा पनि सेवाभावले काम आएको कर्मचारी मिश्री महतोले बताए ।  

वृद्धाश्रम सञ्चालक सीता अधिकारीले पहिलो वर्ष २०७५ सालमा सामाजिक विकास मन्त्रालयबाट ४ लाख रुपैयाँ पाए पनि त्यसता कुनै सहयोग नपाएको बताइन् । ‘पहिलो वर्ष मन्त्रालयले दिएको रकममध्ये करीब साढे ३ लाख रुपैयाँ भवन मर्मत तथा शौचालय निर्माणमा खर्च भयो,’ उनले भनिन्, ‘त्यसपछि पटक–पटक मन्त्रालयमा गएर सहयोगको हार गुहार गर्दा पनि कुनै सहयोग पाएको छैन ।’

मन्त्रालय मात्र नभइ स्थानीय सरकारसँग पनि पटक–पटक आग्रह गर्दा समेत कुनै सुनुवाइ नभएको उनले बताइन् । ‘जनकपुरधाम उपमहानगरपालिकालाई समेतसहयोगका लागि आग्रह गर्यौ,’ उनले भेनिन्, ‘तर केही सहयोग गरेनन् ।’ मेयर लालकिशोर साहले नगरसभाबाट पारित गर्नुपर्छ भन्दै टाल्दै आएको उनले दुखेसो सुनाइन् । 

वृद्धाहरूको खानपिन र औषधि, कर्मचारी तलबलगायतमा मासिक ६० देखि ७५ हजार रुपैयाँसम्म खर्च हुँदै आएको छ । दुई वर्षदेखिको सहयोग नपाएपछि करीब ९ लाख रुपैयाँ बक्यौता रहेको उनले जानकारी दिइन् । 

सञ्चालक समितिका कोषाध्यक्ष ललित बजाजले वार्षिक एक/डेढ लाख रुपैयाँ बराबरको फलफूल, हर्लिक्स र लताकपडालगायतका सहयोग मारवाडी सेवा समितिलगायतका दाता संस्थाहरूबाट प्राप्त हुँदै आएको बताए । तर दैनिक खानपिन र कर्मचारीलगायतका खर्च जोहो गर्न निकै समस्या उनले बताए । 

मन्त्रीलाई भवनको चटारो 
यता सामाजिक विकास मन्त्री नवलकिशोर साह भने समस्याको दिर्घकालीन समाधानका लागि भवन निर्माण गर्ने सोच बनाएको बताए । उनले प्रत्येक वर्ष रकम दिनुभन्दा प्रदेश सरकारले पूरानो भवन मर्मत गर्ने र एकतला थपेर भवन भाडामा लगाउने र त्यसबाट प्राप्त आम्दानी वृद्धाश्रममा खर्च गर्ने सोच बनाएको उनको भनाइ छ । 

‘त्यसका लागि चालु आर्थिक वर्षमा २० लाख रुपैयाँ छुटयाएको छ,’ उनले भने, ‘त्यसमा थप्नुपर्ने अवस्थामा अझै रकम थप्ने योजना छ । तर प्रत्येक वर्ष भीख जस्तो रकम दिने काम प्रदेश सरकारबाट हुँदैन ।' वृद्धाश्रमले तिर्न बाँकी वक्यौताका विषयमा भने उनले अनविविज्ञता प्रकट गरे । 

वृद्धाश्रमको अवस्था 
लीला कोइराला महिला तथा बालबालिका मन्त्री रहेको बेला २०५३ सालमा जनकपुरधाममा जानकी वृद्धाश्रम सञ्चालनमा आएको थियो । जनकपुरधाम–१ भानु चौकमा दुई कोठे घर भाडामा लिई सञ्चालनमा आएको वृद्धाश्रम अहिले वडा नम्बर ८ स्थित गुठीको अढाइ कट्ठा जग्गामा दाताहरूको चन्दा संकलनबाट दुई तल्ले भवन निर्माण भई सञ्चालित छ ।  

वृद्धाश्रममा धनुषा, महोत्तरी, सर्लाही, बारा र भैरहवालगायत जिल्लाका आफन्तबाट बहिष्कृत, सन्तानविहिनसहितका १८ जना बेसहारा वृद्धा आश्रय लिइरहेका छन् । उनीहरूको सम्पूर्ण व्यवस्था आश्रमले गर्दै आएको छ । नित्य कर्मदेखि नुहाउनेसम्मको कार्य आश्रमका कर्मचारीहरुले गर्छन् ।

वृद्धाहरूको दिनचर्या
वृद्धाहरूलाई बिहान र बेलुका खाजा, दुधलगायतका पौष्टिक आहार, बिहान १० बजे र राति ८ बजे दुई छाक खाना खुवाइन्छ । वृद्ध आमाहरूलाई आश्रममा बस्नका लागि छुट्टाछुट्टै बेड दिइएको छ । बिहान ५ देखि ६ बजेसम्म सबै आमाहरू उठ्छन् । नित्यकर्म गरेर नुहाइ धुवाइ गरेपछि पूजापाठसमेत गर्छन् । बिहान ७ बजे चिया दिइन्छ । त्यसपछि सबै आमाहरू भजनकीर्तन गर्छन् । मनोरञ्जनका लागि टेलिभिजनको व्यवस्था समेत गरिएको छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x