मधेश

सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन

सुभाष कर्ण |
फागुन १३, २०७७ बिहीबार १५:४२ बजे

जनकपुरधाम : धनुषाको मिथिला नगरपालिका सामुदायिक विद्यालयहरूमा अंग्रेजी माध्यमको पठनपाठन सुरु गराएका छन् । नगरभित्रका २८ वटै सामुदायिक विद्यालयमा गत वर्षदेखि नै अंग्रेजी माध्यममा पठनपाठन सुरु गराएका हुन् ।

मिथिला धनुषाको पहिलो नगरपालिका हो जहाँ नगरका हरेक सामुदायिक विद्यालयहरूमा अंग्रेजी माध्यमबाट पठनपाठन भइरहेको छ । सामुदायिक र निजी विद्यालयमा अध्‍ययनरत विद्यार्थीबीच हुने  भेदभावलाई कम गर्न नगरभित्रका सवै विद्यालयमा अंग्रेजी शिक्षा लागु गरिएको मिथिला नगरपालिकाका मेयर हरिनारायण महतोले बताए । 


'सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीलाई हीन मानसिकताले हेर्ने गरिन्छ,' मेयर महतोले भने,'विद्यार्थीको मनोबलमा पनि कमी हुन्थ्यो, हामी पनि केही गर्न सक्छौँ भन्ने मानसिकता तयारगरी प्रतिस्‍पर्धी बनाउन परम्परागत शिक्षालाई परिवर्तनगरी नमूना बनाउँदै अंग्रेजी माध्यमको पठनपाठन सुरु गराएका हौँ ।' 

पैसावाल मान्छेका छोराछोरी निजी विद्यालयमा पढ्ने र अंग्रेजीमा दक्ष हुने जस्तो परिपाटी बनेको भन्दै त्यसलाई चिर्न सामुदायिक विद्यालयमा पनि अंग्रेजी शिक्षा सुरु गरिएको उनको भनाइ छ । यसले  अभिभावकको उक्‍त मानसिकता परिवर्तन हुने उनको विश्‍वास छ । 

नगरपालिकाका सबै विद्यालयमा निजी विद्यालय झैँ नर्सरीदेखि नै अंग्रजी पठनपाठन सुरु गरिएको हो । अग्रेजी माध्यममा पठनपाठनका साथसाथै प्राविधिक शिक्षामा पनि त्यतिकै जोड दिइएको उनले बताए । प्राविधिक शिक्षातर्फ नगरभित्रका १४ वटा निमावि तहका विद्यालयमा कम्प्यूटर विषयको पठनपाठन सुरु गराइएको छ । ती सबै विद्यालयमा कम्प्यूटर उपलब्ध गराउनुका साथै नगरपालिकाबाटै पारिश्रमिक दिनेगरी छुट्टै कम्प्यूटर शिक्षकको समेत व्यवस्था गरिएको छ ।

बेंगाडावरस्थित विद्यालयमा कृषि प्राविधिक शिक्षाको रूपमा अघि बढाउन तयारी भइरहेको छ । त्यसमा कृषि प्राविधिक शिक्षाको पनि पठनपाठन सुरु गरिसकिएको छ । त्यसलाई प्राविधिक शिक्षाको कलेजको रुपमा विकास गर्नेमा काम जोडतोडका साथ अघि बढाइएको छ । प्रदेशक कुनै पनि सामुदायिक विद्यालयमा प्राथमिक तहदेखि अंग्रेजी माध्यममा पठनपाठन सुरु गरिएको छैन । मिथिला नगरपालिकाले गरेको प्रयासले प्रदेशमै नमूना पालिकाका रुपमा बन्न गएको छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x