शिलान्यासमै सीमित भयो जनकपुरको प्रसूति अस्पताल
प्रादेशिक अस्पताल जनकपुर अन्तर्गत अमेरिकी सरकारको सहयोगमा निर्माण हुने भनिएको प्रसूति अस्पताल शिलान्यासमै सीमित भएको छ । २०७५ मसिर १ गते स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले शिलान्यास गरेको प्रसूति अस्पताल शिलान्यासमै सीमित भएको हो ।
सुविधा सम्पन्न प्रादेशिक प्रसूति अस्पताल निर्माण हुने भनिएको जग्गा साइटजस्तो बनेको छ । प्रादेशिक अस्पतालको सम्पूर्ण फोहोर सो जग्गामै फाल्ने गरिएको हाे । सघन वस्तीबीचमा अस्पतालको जग्गामा फोहोर फाल्न थालेपछि स्थानीय आक्रोशित भएका छन् ।
उनीहरूले अस्पतालबाट निस्केको फोहोरबाट विभिन्न रोग फैलन सक्ने भन्दै विरोध जनाएका हुन् । अस्पताल व्यवस्थापनले तत्काल फोहोर व्यवस्थापन नगरे कडा आन्दोलन गर्ने चेतावनी दिए ।
अमेरिकाद्वारा प्रादेशिक अस्पताल जनकपुरलाई प्रसूति अस्पताल निर्माण तथा अत्याधुनिक उपकरण सम्पन्न बनाउन एक अर्ब सहयोग गर्ने भनिएको थियो ।
अस्पतालका लागि ९ करोडको लागतमा भवन निर्माणका लागि ठेक्का समेत लगाइ सकिएको थियो । अस्पतालको भवनको ठेक्का सीबीसी कन्ट्रक्सन काठमाडौंलेपाएको थियो । तर हालसम्म कुनै काम सुरु पनि भएको छैन ।
प्रादेशिक अस्पताल जनकपुरका मेडिकल सुपरिटेणडेन्ट डाक्टर नागेन्द्र यादवले कोभिड महामारीका कारण निर्माणमा ढिलाइ भएको बताए । तर आफूहरू दात्रृ निकायको सम्पर्कमै रहेकोले सुरु हुने आसा व्यक्त गरे । अमेरिकी दूतावासका प्रतिनिधि मनिष मिश्रले कागजात नपुगेकाले काम सुरु गर्न नसकिएको बताए । उनले ढिलो भए पनि प्रसूति अस्पताल बन्ने बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया