मधेश

गाउँपालिकाको गाडीमा भेटियो लाखौँ रूपैयाँ, अध्यक्ष भने हाम फालेर गायब

सुभाष कर्ण |
फागुन १८, २०७७ मगलवार ९:४४ बजे

जनकपुरधाम : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले धनुषाको बटेश्वर गाउँपालिकाको अध्यक्षको गाडीबाट लाखौँ रूपैयाँ बरामद गरेको छ । आयोगको केन्द्रीय कार्यालयबाट खटिएकको टोलीले सोमबार अध्यक्ष डम्बरबहादुर राउतको गाडीबाट ८ लाख रुपैयाँ बराबरको रकम बरामद गरेको हो ।

आयोगको टोलीले उक्त रकमसहित सरकारी नम्बर प्लेटको उक्त गाडी र चालकलाई नियन्त्रणमा लिएको छ भने अध्यक्ष राउत गाडीबाट हाम फालेर फरार भएको अख्तियार स्रोतले जनायो । गाउँपालिका अन्तर्गतको विकास निर्माणका योजनाहरूको कामको भुक्तानि दिन उनले ८ लाख रुपैयाँ कमिसनको रुपमा लिएको अख्तियारको दाबी छ ।


अध्यक्ष राउतमाथि १० लाख रुपैयाँ कमिसन मागेको सूचना पाएपछि अख्तियारको टोलीले उनलाई सोमबार दिउँसो साढे ४ बजेदेखि घेरामा हालेर छानविन सुरु गरेको थियो । करिब ३ घण्टाको छानविनपछि अख्तियारको टोलीले गाडीबाट लाखौँ रकम बरामद गरेको थियो । अध्यक्ष भने गाडीबाट कुदेर फरार भएका थिए । अध्यक्ष राउतको खोजी भइरहेको अख्तियारले जनाएको छ ।

आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले गाउँपालिका अध्यक्षको गाडीबाट रकम बरामद भएको र उक्त रकम कति हो भन्ने विषयमा अनुसन्धान भइरहेको जानकारी दिए ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x