मधेश

दोश्रो चौमासिकसम्म प्रदेश २ सरकारको खर्च साढे ९ प्रतिशत मात्र

सुभाष कर्ण |
फागुन १९, २०७७ बुधबार १३:११ बजे

जनकपुरधाम : चालु आर्थिक वर्षको दोश्रो चौमासिकसम्म प्रदेश २ सरकारको बजेट खर्च साढे ९ प्रतिशत मात्रै छ । चालु खर्चतर्फ ११.८ प्रतिशत र पुँजीगततर्फ ८.४५ प्रतिशतगरी औसत खर्च साढे ९ प्रतिशत मात्रै छ ।

प्रदेश सरकारले छुटयाएको बजेट मध्ये पूँजीगततर्फ कुल १९ अर्ब १७ करोड ९८ लाख ९३ हजार रुपैयाँमा एक अर्ब ६२ करोड र चालु खर्चतर्फ १४ अर्ब ४० करोडमा एक अर्ब १४ करोड रुपैयाँ हाराहारीमा खर्च भएको हो । प्रदेश लेखा नियन्त्रण कार्यालयले दिएको जानकारीअनुसार सबभन्दा बढी प्रदेश सभाले २४.५१ प्रतिशत र सबभन्दा कम आन्तरिक मामिला तथा कानून मन्त्रालयले ४.२४ प्रतिशत बजेट खर्च गरेका छन् ।


त्यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयले ४.८५ प्रतिशत, आर्थिक मामिला तथा योजना मन्त्रालयले १२.१, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ९.९, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ५.२५, भौतिक पूर्वाधार विकास मन्त्रालयले १४.११  र समाजिक विकास मन्त्रालयले १३.९९ प्रतिशत बजेट मात्र खर्च गर्न सकेको प्रदेश लेखा नियन्त्रण कार्यालयका लेखा अधिकृत मनोज झाले जानकारी दिए ।

प्रदेश सरकार मातहतको लोक सेवा आयोगको कार्यालयले १९.६ र मुख्यन्यायधिवक्ताको कार्यालयले २३.७ प्रतिशत बजेट खर्च गरेको उनले बताए । 'दोश्रो चौमासिकसम्म ३५/४० प्रतिशतसम्म बजेट खर्च भइसक्नु पथ्र्यो,' इकागजसँग उनले भने, 'तर कोभिड-१९ को प्रभावले बजेट खर्च सुस्त देखिएको हो ।' उनले बजेट निकासा र अख्तियारीमा ढिलाइ हुने परिपाटीले अधिकांश रकम अन्तिम चौमासिकमा मात्रै खर्च हुने गर्दा सुस्त देखिएको उनको भनाइ छ।

सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले पनि परम्परागत नीति ढिलो गरी अख्तियारी र कोभिड प्रभावको कारणले गर्दा चालु आर्थिक वर्षमा बजेट खर्च न्यून देखिएको बताए । उनले दोश्रो चौमासिकसम्म बजेट खर्चको औसत न्यून देखिए पनि आर्थिक मसान्तसम्म अन्य वर्षको तुलनामा बढी खर्च गरिनेछ ।

गत आ.व. २०७६/०७७ मा प्रदेश सरकारमा कुल बजेटको मात्र ४६.९५ प्रतिशत बजेट खर्च गरेको थियो ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x