मधेश

प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमाथि कुर्सी प्रहार

सुवास कर्ण |
फागुन २१, २०७७ शुक्रवार १८:५६ बजे

जनकपुरधाम : प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवमाथि सहकारीका सदस्यहरूले कुर्सी प्रहार गरेका छन् । शुक्रबार जनकपुरधाममा आयोजित जिल्ला सहकारी संघ धनुषाको साधारण सभामा सम्बोधन गर्ने क्रममा असन्तुष्ट पक्षले राज्यमन्त्री यादवमाथि कुर्सी प्रहार गरेका हुन् ।

संघको हरहिसाब सार्वजनिक, घरभाडाबाट आइरहेको रकम, चल-अचल सम्पति सार्वजनिक गर्न माग गर्दै रामबाबु यादव समूहले विरोध जनाएका थिए । उनीहरूले जानकारीविनै गोप्य रूपमा साधारण सभा गर्न लागिएको भन्दै कुर्सी प्रहार गरेका हुन् ।


असन्तुष्ट पक्षका संजय साहले संघको विवाद बारे मौखिक तथा लिखित रूपमा विवाद सम्बन्धमा मन्त्रालयलाई जानकारी गराइसकेको जानकारी दिए । उनकाअनुसार हिजो राति राज्यमन्त्री यादवले आपसमा छलफल गरेर मात्रै साधारण सभा हुने प्रतिबद्धता जनाएका थिए । तर बिहान उनकै आतिथ्यमा कार्यक्रम भइरहेको देखेपछि आक्रोशित सहकारी सदस्यहरूले कुर्सी प्रहार गरेको साहले बताए ।

उनले संघलाई निष्पक्ष बनाई नयाँ नेतृत्व चयन गर्न पटक–पटक भन्दै आए पनि मन्त्रालयले हरियौतसँग नै सहकारीको सबै काम गराउंदै आएकोमा समेत सहकारी शेयर सदस्यहरू आक्रोशित रहेको बताए। घटना पश्चात राज्यमन्त्री यादवलाई कडा सुरक्षाबीच कार्यक्रमबाट बाहिर लगिएको थियो । यता राज्यमन्त्री यादवले भने सामान्य विवाद मात्रै भएको बताए । 

संघमा विवाद किन ?

सहकारी २४ वर्षदेखि एउटै व्यक्ति अध्यक्ष रहेको र त्यसले हरहिसाब हालसम्म नगरेको भन्‍दै संघमा विवाद छ । वर्षौसम्म एउटै व्यक्ति अध्यक्ष हुन नपाउने भनी गतवर्ष फागुन २३ गते सर्वसम्मतले रामबाबु यादवको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको थियो । गत वर्षदेखि नै सहकारी संघ दुई गुटमा विभाजित रहेको छ ।

संघका अध्यक्ष रामबाबु यादवले ७९ शेयर सदस्य मध्ये ७० जना र ५ वटा विषयगत संघ मध्ये ४ वटा आफ्नो पक्षमा रहेकोमा फर्जी सदस्यहरू खडा गरी संघका निवर्तमान अध्यक्ष हरिचन्द्र हरियौत नेतृत्वको समूहले गरेको भ्रष्टाचार लुकाउन गोप्य रूपमा साधारण सभा गर्न लाग्दा आफूहरूले विरोध गरेको बताए ।

उनले भने, ‘संघमा १ लाख ३२ हजार प्रति महिना घरभाडा आइरहेको छ, राष्ट्रिय सहकारी बोर्डबाट अनुदान वापतको प्रति वर्ष आउने २० लाख रुपैयाँसहित २४ वर्षसम्मको करोडौँ रुपैयाँको हरहिसाब माग्दा सार्वजनिक गरिरहेको छैन ।’

अध्यक्ष यादवले भने त्यो रकम बाहेक निवर्तमान अध्यक्ष हरियौत र जिल्ला वचत सहकारी संघ धनुषाका अध्यक्ष ध्रुवनारायण यादवलगायतका पदाधिकारीमाथि सहकारी जगेडा कोषको ४७ लाख रुपैयाँका साथै संघको १७ धुर बेचिएको जग्गा रकम हिनामिना गरेको कारण एउटै व्यक्तिलाई २४ वर्षदेखि अवैधानिक रूपमा अध्यक्ष बनाउँदै आएको छ ।

साधारणसभामा संघमा आबद्ध ७९ जना शेयर सदस्यमध्ये ९ जनालाई मात्रै कार्यक्रम बारे जानकारी गराइएको थियो । बाँकी सबै सदस्यहरू रामबाबुको पक्षमा रहेको बताइएको छ । रामबाबु पक्षले फागुन २४ गते राष्ट्रिय सहकारी महासंघको आतिथ्यमा अर्को साधारणसभा गर्ने शेयर सदस्य संजय कुमार साहले जानकारी दिए ।


Author

थप समाचार
x