मधेश

१५ सयलाई साइकल वितरण, दिनभरि भोकै बसे छात्रा

सुभाष कर्ण |
फागुन २४, २०७७ सोमबार १७:४८ बजे

जनकपुरधाम : प्रदेश २ सरकारले अन्तराष्ट्रिय महिला दिवसको अवसरमा धनुषाकाका विभिन्‍न सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूलाई साइकल वितरण गरेको छ । दिवसको अवसरमा प्रदेश 'बेटी पढाउ बेटी बचाउ' अभियानअन्तर्गत सोमबार डेढ हजारभन्दा बढी छात्राहरूलाई साइकल वितरण गरिएको हो । धनुषाका २७ वटा सामुदायिक विद्यालका कक्षामा ८ मा अध्ययनरत १ हजार ५ हजार २० छात्रालाई साइकल वितरण गरिएको छ ।


मुख्यमन्त्री लालबाबु राउत र प्रदेश सभा उपसभामुख उपमादेवले आँचल ठाकुर प्रियन्का मण्डललाई साइकल हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरेका थिए । बाँकी विद्यार्थीहरूलाई मधेश भवनमा लाइन लगाएर विद्यालयका प्रधानाध्यापक र प्रतिनिधिहरूको रोहबरमा मुख्यमन्त्री कार्यालयका कर्मचारीहरूले हस्तान्तरण गरेका थिए । गत वर्ष ०७६/७७ मा प्रदेश सरकारले १४ हजार आधारभूत र माध्यमिक तहका छात्राहरूलाई साइकल वितरण गरेको थियो ।

छात्राहरूलाई विद्यालय जान सहज होस भन्ने उद्देश्यले चालु आर्थिक वर्षमा सामुदायिक विद्यालयमा अध्ययनरत निम्न तथा विपन्न वर्गका छात्राहरूलाई साइकल वितरण गरिएको प्रदेश सरकारले जनाएको छ । 

दिनभर भोकै छात्राहरू
साइकल वितरण गर्न भन्‍दै उनीहरूलाई बिहानै बोलाइएको थियो । जसका लागि उनीहरू २५/३० किलोमीटर टाढाँ गाउँ-गाउँबाट बिहानै आएका थिए । साइकल वितरण हुन्‍जेल साँझको ४ बज्‍यो । बिहान ८/९ बजेदेखि घरबाट आएका छात्राहरू दिनभर भोकै बस्‍नु पर्‍यो । ११ बजेदेखि सुरु हुने भनिएको कार्यक्रम १२ बजेदेखि मात्र सुरु भएको थियो ।

साइकल लिने उत्साहमा छात्राहरू चर्को घाममा भोकभोकै बसेर करिब साढे २ बजेसम्म मन्त्री तथा सांसदहरूको भाषण सुनेर बसे । भाषण कार्यक्रम सकेपछि डेढ घण्टा जति साइकल लिन चर्को घाममा लाइनमा बस्नु पर्‍यो ।  

श्रीरामजानकी माध्यमिक विद्यालयकी एक छात्राले भनिन्, 'घरबाट बिहानै ९ बजे खाजा खाएर आएको थिएँ, तर ४ बजेसम्‍म भोकै बस्‍नु पर्‍यो । मन्त्रीहरुको भाषणै सुन्दा सुन्दै दिक्क लाग्‍यो ।'

जनकपुरधाम उपमहानगरपालिका ४ स्थित श्री संकटमोचन रामरती उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक बलिराम मिश्रले ११ बजे साइकल वितरण गर्ने भनेर बोलाइएको भए पनि ढिलागरी साइकल वितरण हुँदा छात्राहरूले दु:ख पाएको बताए । 'साढे १० बजे नै कार्यक्रम स्थलमा विद्यार्थी लिएर आयौं । पहिलो कार्यक्रम ढिलो सुरु भयो । त्यसमा  मन्त्रीहरूको भाषणमै समय गयो ।' हुनत प्रदेश सरकारले खाजाको पनि व्यवस्था गरेको थियो । तर खाजा साढे दुई बजेपछि मात्रै वितरण गरियो ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x