मधेश

धनुषाका एक मेयरले ७ लाख रुपैयाँ फिरौती लिएको खुलासा(अडियोसहित)

रकम लिएको मेयरद्वारा स्वीकार

सुभाष कर्ण |
फागुन २८, २०७७ शुक्रबार १३:५७ बजे

जनकपुरधाम : एक रेञ्‍जरलाई अपहरमुक्त गराउन पीडित परिवारसँग भूमिगत समूहको नाममा धनुषाका एक मेयरले फिरौती बापत सात लाख रुपैयाँ लिएको खुलासा भएको छ । धनुषाको क्षिरेश्‍वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पजियारले ११ वर्षअघि अपहरणमा परेका वनरक्षक (रेञ्‍जर) तुरुन्तलाल पुर्वेलाई अपहरणमुक्त गराइ दिने भन्‍दै फिरौती सात लाख रुपैयाँ लिएको पीडित परिवारले खुलासा गरेको हो ।

आफ्नो श्रीमान अपहरण भएको बेला पजियारले जनतान्त्रिक तराई मुक्ति मोर्चाको नाममा फिरौती बापत सात लाख रुपैयाँ लिएको अपहरित रेञ्‍जर पुर्वेकी श्रीमती निलमले बताइन् । ‘सात लाख रुपैयाँ लिएर न श्रीमान अपहरणमुक्त भए न रकम नै फिर्ता भयो,’ इकागजसँग उनले भनिन् । रेञ्‍जर पदमा कार्यरत उनका श्रीमान तुरुन्तलाल २०६६ सालमा बेपत्ता भएका थिए । 


उनकाअनुसार बेपत्ता भएको केही दिनपछि जनतान्त्रिक तराई मुक्ति मोर्चा नामको एक भूमिगत समूहले ३० लाख रुपैयाँ फिरौती माग्यो । ‘बेपत्ता भएको २६/२७ दिनपछि नेपाली कांग्रेस क्षेत्र नम्बर ५ का सभापति (हाल मेयर) पजियारले घरमै आएर अपहरणमुक्त गराई दिन्छु भन्नुभयो,’ निलमले भनिन्, ‘उहाँले सात लाख रुपैयाँ माग्‍नुभयो । मैले विश्‍वासकै आधारमा ७ लाख दिएँ । तर आजसम्म न श्रीमान फर्के न पैसा नै फिर्ता भयो ।’

अहिलेसम्म आफ्नो श्रीमान ज्यूँदो वा मरेको केही जानकारी नभएको उनले बताइन् । हाल उक्त पैसा फिर्ता माग्दा मेयरले उल्टै थर्काउने गरेको उनको भनाइ छ ।
उनले श्रीमानको खोजी गरिदिन र मेयरविरुद्ध ईलाका प्रहरी कार्यालय, महेन्द्रनगर, जिल्ला प्रहरी कार्यालय जनकपुर, जिल्ला प्रशासन कार्यालय धनुषामा किटानी जाहेरी पनि दिइन् । तर, अहिलेसम्म न्याय पाउन नसकेको उनले बताइन् । अपहरित रेञ्‍जरको परिवारमा श्रीमतीसहित एक छोरा छन् । 

रकम लिएको मेयरद्वारा स्वीकार
यता मेयर पजियारले पीडित परिवारसँग रकम लिएको स्वीकार गरेका छन् । तर, ११ वर्षपछि अहिले आएर राजनीतिक पूर्वाग्रह राखेर आफूलाई फसाउन खोजिएको उनले बताए । 

‘पीडित परिवारसँग भूमिगत समूहले मागेको रकम दिन कोही जानेवाला थिएनन्,’ उनले भने, ‘म अपहरणकारीले भनेको ठाउँमा ज्यानको बाजी राखेर आधा रातमा पैसा बुझाउन गएको हो । रकम लिएर गएँ । ढल्केबर नजिकैको औरही खोलामा म र मेरो एक साथी पैसा बुझाउन गएका थियौं । त्यहाँ कोही नभएपछि रकमको झोला त्यही राखेर फर्कियौँ । तर, त्यो फिर्ता आयो/आएन । केही थाहा भएन । अहिले ११ वर्षपछि राजनीतिक पूर्वाग्रह राखेर मलाई फसाउन खोजिँदैछ ।’

उक्त झोलामा कति पैसा थियो भन्ने समेत आफूलाई जानकारी नभएको उनले दाबी गरे । पजियार २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा कांग्रेसको तर्फबाट धनुषाको क्षिरेश्‍वरनाथ नगरपालिकाको मेयर निर्वाचित भएका हुन् ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x