मधेश

मुखियापट्टीका शिक्षक र स्वास्थ्यकर्मीले बैैशाखदेखिको तलब पाएनन्

सुभाष कर्ण |
कात्तिक २०, २०७७ बिहीबार १८:१० बजे

जनकपुरधाम : धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा कार्यरत शिक्षक तथा स्वास्थ्यकर्मीहरु बक्यौता तलब भुक्तानीको माग गर्दै आन्दोलनको तयारीमा छन् । गाउँपालिकामा प्रावि तथा मावि गरी ११ वटा विद्यालयमा कार्यरत शिक्षक र ४ वटा स्वास्थ्य संस्था (हेल्थ पोष्ट) मा कार्यरत स्वास्थ्यकर्मीहरुको तलब बाँकी छ ।

स्वास्थ्यकर्मीहरुका अनुसार आर्थिक वर्ष २०७६/०७७ को जेठ महिनादेखि सीएमए, अहेव र एचए गरी ३५ जना स्वास्थ्यकर्मीको तलब, दसैं पेश्की र क्वारेन्टाइनमा खटेको जोखिम भत्ता बाँकी रहेको छ ।


त्यस्तै शिक्षकतर्फ प्रावि तहका १० वटा विद्यालयका शिक्षकहरुको असार र एउटा मावि तहका शिक्षकहरुको बैशाख महिनादेखिको तलब बाँकी रहेको छ । मावि तहमा ६ जना र प्रावि तहमा ८०, बालविकासतर्फ ८२ र कर्मचारी १२ जनाले तलब पाएका छैनन् । 

स्वास्थ्यकर्मी र शिक्षकहरुले बक्यौता तलबको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र समेत बुझाएका छन् । पटक पटक बाँकी तलब माग गर्दा पनि नपाएको स्वास्थ्यकर्मी जयकुमार यादवले बताए । ‘पटक पटक बक्यौता तलब दिन आग्रह गरियो’ उनले भने, तर प्रमुख प्रशासकीय अधिकृतले आफूलाई गाउँपालिका अध्यक्षले अख्तियारी नदिएको कारण भुक्तानी गर्न नमिल्ने भनेर टार्दै आउनु भएको छ ।’

दसैंमा पनि तलब र जोखिम भत्ता नदिएपछि बाध्य भएर जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउनुपरेको उनले बताए । तर सम्बन्धित निकायले कुनै चासो नलिएको उनले आरोप लगाए । तत्काल बक्यौता तलब उपलब्ध नगराए आन्दोलनमा जाने स्वास्थ्यकर्मीले चेतावनी दिए ।

शिक्षक र स्वास्थ्यकर्मीको तलब भुक्तानी गर्न नसकिएको प्रमुख प्रशासकीय अधिकृत सुशोधकुमार ठाकुरले स्वीकार गरे । बजेट कार्यक्रम तयार नहुँदा र आफूले अख्तियार नपाउँदा तलब दिन नसकिएको उनले दाबी गरे । 

‘जनप्रतिनिधिहरुले बजेट बनाउने हो,’ उनले भने, ‘गाउँसभामा जनप्रतिनिधि र बोर्ड सदस्यबीच कुरा मिल्न नसक्दा गाउँसभा सम्पन्न भए पनि बजेट नआउँदा समस्या उत्पन्न भएको हो ।’ यस विषयमा प्रतिकिया लिन गाउँपालिका अध्यक्ष मनोज यादव र उपाध्यक्ष मीरादेवी महतोलाई पटक पटक प्रयास गर्दा पनि सम्पर्क हुन सकेन ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x