मधेश

खुल्ला सिमानाका कारण बारामा काठ तस्करी बढ्यो‍

सुभाष कर्ण |
चैत २, २०७७ सोमबार १३:३० बजे

 

जनकपुरधाम : बारामा पछिल्‍लो समय काठ तस्करी बढेको तथ्‍यांकले देखदाएको छ । आर्थिक वर्ष २०७६/०७७ मा काठ तस्करीसम्बन्धी ३२ वटा मुद्दा दायर भएका थिए । जस मध्ये २२ वटा डिभिजन वन कार्यालयमा र बारा जिल्ला अदालतमा १० वटा थिए ।


तथ्यांकअनुसार बारामा गत आर्थिक वर्षमा १ हजार २ सय ८२.४ फिट काठ चोरी तस्करी भएको थियो । चालु आर्थिक वर्षको फागुन तेश्रो सातासम्म १ हजार ९ सय ८३.५ क्युफिट काठ चोरी तस्करी भएको डिभिजन वन कार्यालय बाराले जनाएको छ ।

कार्यालयका प्रमुख मन्जुर अहमदले विगतको वर्षभन्दा अहिले काठ चोरी तस्करी बढेको जानकारी दिए । उनकाअनुसार लकडाउनमा मान्छेहरू वनमाथि आश्रीत भएको कारणले चोरी तस्करी  बढेको हो । सरकारले काठ खरिद बिक्री बन्द गरेकाले चोरीको क्रम बढेको उनको भनाइ छ । जिल्लाको निजगढ, भरतगन्ज, सिगौल, अमरेखगन्ज, नयां बस्ती मधुवन, बोधगन्जलगायतका वन क्षेत्र बढी काठ तस्करी भएको हो ।

खुल्ला सिमानाका कारण २४ घण्टा सशस्त्र वन रक्षक र वन कर्मचारीको गस्ती रहे पनि नियन्त्रण गर्न नसकिएको वन कर्मचारीहरूको भनाइ छ । प्रमुख अहमदले वन तस्करी रोक्नको लागि विस्तृत योजना नै निर्माण गरी अघि बढाइएको जानकारी दिए ।

उनले वन तस्करीका रोक्नुको साथै वन क्षेत्रको संरक्षण समेत सो योजनाको प्रमुख लक्ष्य रहेको छ । वन क्षेत्रभित्र भएको घना वस्ती र चौतर्फी रूपमा खोलिएका बाटोघाटोका कारण निमार्णधीन निजगढ अन्तराष्ट्रिय विमानस्थल र आसपासका वन क्षेत्रमा पछिल्लो समय सबै भन्दा बढी तस्करी हुने गरेको छ ।

यता स्थानीयवासीहरूले वन तस्करी रोक्नको लागि खुला सीमालाई जिम्मेवार बताउने गरिए पनि वन कर्मचारीहरूको मिलोमतोमा नै तस्करी हुने गरिएको दाबी गरेका छन । तर कर्मचारीहरूले आफूहरूमाथि लगाईएको आरोप गलत भएको बताउँछन् । 

जिल्लामा ४७ हजार एक सय ८२ हेक्टर वन क्षेत्र रहेको छ । जस मध्ये ४१ सामुदायिक वन, ४ साझेदारी वन , पर्सा राष्ट्रिय निकुञ्ज र निजीवन क्षेत्र रहेका छन् ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x