मधेश

झा दम्‍पत्‍ति बेपत्‍ता प्रकरण, सिआईबीले थाल्यो अनुसन्धान

सुभाष कर्ण |
चैत ४, २०७७ बुधबार १६:३२ बजे

जनकपुरधाम : घटनाको २३ दिनपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले महोत्तरीको पिपरा गाउँपालिका-५ सहोडवा निवासी झा दम्पति बेपत्‍ता प्रकरणको अनुसन्धान थालेको छ । चौतर्फी दबाबपछि सिआईबीले अनुसन्धान थालेको हो । विभिन्‍न ५१ वटा संघ संस्थाले धर्ना र अनसनलगायतका कार्यक्रम गर्दै दबाब दिएका थिए । 

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रवक्ता गंगा पन्तले झा दम्पति बेपत्ता प्रकरणमा प्रारम्भिक अनुसन्धान थालिसकेको जानकारी दिए । उनले भने ‘हुनत जिल्ला प्रहरी कार्यालय महोत्तरीको टोलीलाई पहिलेदेखि नै सहयोग गरिरहेका थियौं । अब हामी आफ्नै टोली खटाएर विस्‍तृत रूपमा अनुसन्धान प्रक्रियाअघि बढाउछौं ।'


प्रदेश २ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय महोत्तरीले अनुसन्धान गरिरहेको भए पनि ठोस परिणाम आउन नसकेपछि सिआइबीले आफ्नै टोली खटाएर अनुसन्धान गर्न लागेको हो । पन्तले भने ‘यो घटनामाथि हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ, स्थानीयसहित विभिन्न संघ संस्थाको मागपछि हामीले टोली खटाउन लागेका हौँ ।'

सहोडवा निवासी मुसाफिर झा र गीता देवी झा गत फागुन २३ गते राति सुतिरहेको अवस्थामा आफ्नै घरबाट बेपता भएका थिए। घटनाको तीन साता बितिसक्दा पनि अवस्था अझै अज्ञात छ ।

प्रहरी प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय विभिन्न दृष्टिकोणबाट अनुसन्धान गरे पनि सुइको समेत पता लगाउन सकेको छैन । अनुसन्धानको क्रममा एक पोखरीमा बेपता झा दम्पतिको झुल मात्र फेला पारेका छन् । बेपता दम्पति सुत्ने कोठामा रगतका केही छिटा देखिएपछि उनको हत्या भएको हुन सक्ने आशंका गरिएको छ ।

जग्गा विवादमा साक्षी बसेका कारण उनको अपहरण भएको हुन सक्ने स्थानीयले आशंका गरे पनि हालसम्म बास्‍तविक कुरा प्रहरीले बाहिर ल्याउन सकेको छैन ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x