अनुगमनको हल्लाले पाँच दिनदेखि बजार बन्द
जनकपुरधाम : राजस्व अनुसन्धान कार्यालयको टोलीले अनुगमन गरिरहेको हल्लाका आधारमा जनकपुरधाम बजार ५ दिनदेखि बन्द छ । बिहान पसलहरू खुल्छन् तर, दिउँसो अनुसन्धान टोली आयो भन्ने हल्ला चलेपछि पसलहरू बन्द हुन्छन् ।
एक सातादेखि राजस्व अनुसन्धान कार्यालय पथलैयाको टोली पसलहरूमा स्थायी लेखा नम्बर र कर चुक्तालगायतका कागजात खोज्दै छापामारी गरिरहेको हल्ला जनकपुरधाममा चलेको छ । कोभिडका कारण लकडाउन गरिएपछि थलिएको व्यवसाय पुनः लयमा फर्किदै गरेको अवस्थामा राजस्व कार्यालयबाट छापा मार्न टोली आएको हल्लाले पसलहरू बन्द भएको कपडा व्यवसायी सुरेन्द्र साहले बताए ।
जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललितकुमार साहले पनि राजस्व अनुसन्धानको टोली अनुगमनमा आउने हल्लाका कारण व्यापारीहरूले आफै पसल बन्द गर्ने गरेको बताए । ‘राजस्वले बजार अनुगमन गरिरहेको अधिकारिक जानकारी आएको छैन,’ उनले भने, ‘छापामारी गर्दा कोही पक्राउ परेको कुरा पनि आएको छैन । हल्लै हल्लामा बजार बन्द भइरहेको छ ।’
अध्यक्ष साहले व्यवसायीहरूलाई ढुक्क भएर पसल खोल्न पटक-पटक आग्रह गर्दा पनि व्यापारीहरुले डराएर बन्द गर्ने गरेको बताए । व्यापारीको डर के हो भन्ने बारे भने आफूलाई केही जानकारी नभएको उनको भनाइ छ । कोही स्थायी लेखा नम्बर नलिएका र समयमा कर चुक्ता नगरेकाहरू डराइरहेको हुनसक्ने उनको भनाइ छ । यता राजस्व अनुसन्धान कार्यालय पथलैया बाराले अनुगमनका लागि कुनै टोली जनकपुरधाम नगएको जानकारी दिएको छ ।
जनकपुरधाम मात्रै होइन यसअघि धनुषाको महेन्द्रनगर, महोत्तरीको औरही, गौशाला, जलेश्वर सहितका ठाउँमा राजस्व टोलीले छापामारी गरिरहेको हल्लाले पसल तथा व्यवसाय बन्द भएका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया