मधेश

संरक्षण अभावमा सुनसान नारिमन ताल, आउनै छाडे पर्यटक

सुभाष कर्ण |
चैत ११, २०७७ बुधबार १३:४ बजे

जनकपुरधाम : केही वर्ष अघिसम्म पर्यटकले भरिभराउ रहने सर्लाहीस्थित नारिमन ताल अहिले सुनसान बनेको छ । जिल्लाको चन्द्रनगर गाउपालिकास्थिति तालको मनमोहन दृश्य व्यवस्थापन आभावले कुरुप बन्दै गएको छ । नारिमन ताल पुग्ने सडक जीर्ण भएपछि आन्तरिक र बाह्य पर्यटक आउन छोडेका हुन् । 

व्यवस्थापन पक्षले संरक्षणमा ध्यान नपुर्‍याउँदा तालको चारैतिर झाडी र फोहोर जम्मा भएको छ । कोभिड–१९ त्रासका कारण भारतसँगको सीमा बन्द हुँदा बाहय पर्यटकको आगमन रोकिएको छ । सडक राम्रो नभएका कारण आन्तरिक पर्यटकको संख्यामा कमी आएको चन्द्रनगर गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत अशोक साहले बताए ।  प्रदेश सरकारले तालको सौन्दर्यीकरण र भ्युटावर बनाउनेलगायतका योजनाहरू अघि सारे पनि जीर्ण बाटोमा कुनै ध्यान नपुर्‍याएको उनले गुनासो गरे । 


पञ्चवर्षीय विकास योजनाअन्तर्गत कम्पाउन्ड वाल, भ्युटावर, म्युजिकल वाटर फाउन्टेन, चिल्ड्रेन पार्क, व्यापारिक भवन, घाट निर्माण, रेस्टरुम, पानी ट्यांकी तथा डिप बोरिङ, ब्ल्याक टप रोड, विद्युत्सहित ताललाई आकर्षक बनाउने कामहरू गर्ने योजना बनाइएको छ । तर सदरमुकामदेखि तालसम्म पुग्ने बाटोको बारेमा भने कसैले ध्यान दिएका छैनन् । 

प्रदेश २ कै सबैभन्दा ठूलो ताल भनिएको नारिमन ताल पूर्व–पश्चिम राजमार्ग अन्तर्गत फूलजोरबाट १४ किलोमिटर दक्षिण तथा सदरमुकाम मलंगवाबाट ११ किलोमिटर उत्तरमा पर्दछ । सो ठाउँमा नयाँ वर्ष, भ्यालेन्टाईनलगायतका विभिन्न उत्सव पर्यटक भरिभराउ हुन्थे । विभिन्न उत्सव महोत्सव बाहेक अन्य दिनमा पनि मनमोहक दृश्य अवलोकन गर्न र नजिकै रहेका महादेव मन्दिरमा दर्शन तथा पूजापाठ गर्न केही वर्षअघिसम्म दिनहुँ हजारौको संख्यामा पर्यटकहरु जाने गर्दथे ।

आन्तरिक तथा बाह्य पर्यटक नआउँदा यहाँका होटल र लजहरू पनि चल्न नचलेपछि व्यवसायीहरू मर्कामा परेका छन् । नारिमन तालको छेउमा रहेको महादेव मन्दिरका कारण पनि पर्यटकीय मात्र नभई धार्मिक र ऐतिहासिक स्थलको रूपमा परिचित छ । प्रदेश २ कै उत्कृष्ठ पर्यटक स्थल बन्न सक्ने सम्भावना रहेको नारिमन तालको संरक्षण, विकास र प्रचार प्रसारमा ध्यान दिनुपर्ने आवश्यकता देखिन्छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x