बागमती

हेटौंडालाई फूलैफूलको सहर बनाइँदै

इकागज |
चैत १८, २०७७ बुधबार ७:८ बजे

 हेटौँडा : बागमती प्रदेशको राजधानी समेत रहेको हेटौंडा उपमहानगरपालिकालाई फूलैफूलको सहरको रुपमा विकास गरिने भएको छ ।  हेटौंडा बजार तथा आसपासको क्षेत्रलाई फूलैफूलको हरियाली सहर निर्माण गर्ने अभियानको सुरुवात यसअघिदेखि नै भइसकेको छ ।

हेटौंडा उपमहानगरपालिकाले हेटौंडा बजारको प्रत्येक चोकचोकमा गमला राखेर फूलको विरुवा रोपेको छ । त्यसको रेखदेख गर्न र गमलामा पानी हाल्न हेटौंडा उपमहानगरपालिकाकै कर्मचारी खटिने गरेका छन् । 


हेटौंडा बजार र आसपासका क्षेत्रमा फूल रोप्ने अभियानलाई तीव्र पार्नका लागि आफ्नै नर्सरी स्थापना गरेर फूल उत्पादन गर्ने कार्यको हेटौंडा उपमहानगरपालिकाले सुरुवात गरेको छ । नगर परिसरमा स्थानीय स्तरमा उत्पादन हुने फुलको विरुवा उत्पादन गर्न प्लाष्टिकको टनेलभित्र नर्सरी स्थापना गरिएको हेटौंडा उपमहानगरका प्रवक्ता जगन्नाथ सापकोटाले बताए । 

यस वर्ष फूलका विरुवा रोप्न सक्ने गरी १० हजार फूलका विरुवा उत्पादन गर्ने लक्ष्य लिएकोे हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले जानकारी दिए । हेटौंडा बजारक्षेत्र र आसपासका सडक पेटीमा फूलैफूल राख्न ठूला-ठूला विरुवाहरु बाहिरबाट किनेर ल्याउने गरिएको छ । साना पूmलका विरुवाहरु आफ्नै नर्सरीमा उत्पादन गरिने मेयर महतले जनाए । हेटौंडा उपमहानगरपालिकाको नर्सरीमा छुट्टै कर्मचारी भने राखिएको छैन । 

हेटौंडाको वातावरणमा अनुकुल हुने सबै प्रकारको फूलका बिरुवा उत्पादन गरिने मेयर महतले जानकारी दिए । अहिले हेटौंडा बजार क्षेत्रको माछा पालन, नगरपालिका रोड, कान्तिराजपथ, मकवानपुर क्याम्पस गेट लगायत सडकको डिभाइडरमा लगाइएको फूलले सहरको सुन्दरता बढाएको छ । 

पानी नपरेर केही स्थानमा फूलका विरुवा मरेका पनि छन् । नगरले आफ्नै घरवरपर भएका पूmलहरुको संरक्षण गर्न नगरबासीलाई आग्रह गर्दै आएको छ । यस्तै हेटौंडा उपमहानगरपालिकाले नगरमा घर बनाउँदा अनिवार्य रुपमा दुई वटा फलफूलका विरुवा रोप्नुपर्ने व्यवस्था गरेको छ । 


Author

थप समाचार
x