बागमती

मकवानपुर गोल्डकपकाे उपाधि त्रिभुवन आर्मीलाई

इकागज |
जेठ ३०, २०७९ सोमवार १९:३९ बजे

मकवानपुर । मकवानपुर जिल्लाको हेटौंडामा आज सम्पन्न‌ चौथो संस्करणको स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकप प्रतियोगिताको उपाधि विभागीय टिम त्रिभुवन आर्मीले हात पारेको छ । साविक बिजेता आर्मीले हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको फाइनल खेलमा घरेलु टोली एफसी विजय युथलाई २–१ गोलअन्तरले पराजित गरेको हो ।

उपाधिसँगै आर्मीले १५ लाख रुपैयाँ पुरस्कार पाएको छ भने उपविजेता बनेको घरेलु टिम एफसी विजय युथले १० लाख रुपैयाँ पाएको छ । चौथो संस्करणको स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकप प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुँदै घरेलु टिम एफसी विजय युथका क्याप्टेन अशोक बरालले बुलेट बाइक पाएका छन् ।


फाइनल खेलमा उपविजेता बनेको एफसी विजय युथका बराल ए डिभिजन क्लबमा व्यावसायिक फुटबल खेलाडी हुन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीका लागि बुलेट बाइकको प्रायोजन हेटौंडा स्कूल अफ म्यानेजमेन्टले गरेको हो । यस्तै प्रतियोगिताको उत्कृष्ट गोलरक्षक आर्मीका बिकेश कुथु घोषित भए । उत्कृष्ट मिडफिल्डरमा आर्मीका विवेक बस्नेत, स्ट्राइकरमा आर्मीकै दिनेश हेम्जन र प्रशिक्षकमा आर्मीका नवीन न्यौपाने घोषित भए ।

विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पाएका छन् । प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो । मकवानपुरका १० वटै स्थानीय तहको लगानीमा प्रतियोगिता भएको हो ।


Author

थप समाचार
x