बागमती

भोलिबाट मकवानपुरका बालबालिकालाई फाइजर खोप लगाइँदै

इकागज |
असार ८, २०७९ बुधबार १६:४८ बजे

फाइल तस्वीर

मकवानपुर । स्वास्थ्य कार्यालय मकवानपुरले भोलि ९ असारबाट  बालबालिकाहरुलाई कोरोना भाइरस विरुद्धको फाइजर खोप लगाउने भएको छ ।

नेपाल सरकारले कोरोना विरुद्धको खोप अन्य उमेर समूहलाई लगाइसकेको भए पनि १२ वर्षभन्दा मुनिका बालबालिकालाई उपयुक्त हुने खोप उपलब्ध गराउन सकेको थिएन । ५ वर्ष लागेका र १२ वर्ष ननाघेका बालबालिकाहरुका लागि असार ९ गतेबाट १५ गतेसम्म पहिलो चरणमा यो खोप लगाउन लागिएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख भीमसागर गुरागाईले बताए ।

पहिलो चरणको अभियान मकवानपुर जिल्लाका ६१ हजार बालबालिकालाई फाइजर खोप लाइने छ ।

खोप लगाउनका लागि सामुदायिक विद्यालयलाई खोप केन्द्रको रुपमा व्यवस्था गरिने छ । विश्व स्वास्थ्य संगठनले मान्यता गरेको यो खोप ९१ प्रतिशत प्रभावकारी भएको गुरागाईंले बताए ।

पहिलो चरणको खोप लगाएको २१ दिनपछि यसको दोस्रो मात्रा लगाउनु पर्ने उनले बताए । यो खोप ५ वर्षभन्दा कम र १२ वर्षमाथिको उमेरका बालबालिकाहरुले लगाउन नहुने स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । यो अभियानमा मकवानपुर जिल्लाका ६१ हजार ७५ बालबालिकाले खोप लिने छन् । यसका लागि ३९० जना स्वास्थकर्मी परिचालन हुने स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकृत लक्ष्मण घिमिरेले बताए ।

विद्यालय नजाने वा विद्यालयमा खोप लगाउन छुटेमा यस्ता बालबालिकाहरुलाई अभियान सकिएको भोलिपल्ट नजिकको स्वास्थ संस्थाबाट लगाउन सकिनेछ ।

स्वास्थ्य कार्यालय मकवानपुरले कोभिड १९ विरुद्ध संचालित खोप अभियानको प्रगति समीक्षा तथा फाइजर खोप अभियान संचालन बारे जानकारी दिने उदेश्यले आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा यसबारे जानकारी गराइएको हो ।



Author

थप समाचार
x