बागमती

विरोधका बीच हेटौंडा उपमहानगरमा २ अर्ब  ७१ करोड बजेट ल्याइँदै

सरिता दाहाल |
असार १०, २०७९ शुक्रबार ८:२२ बजे

मकवानपुर- बागमती प्रदेशको एक मात्रै उपमहानगरपालिका हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमहरू कार्यान्वयन गर्न २ अर्ब ७१ करोड ७९ लाख बजेट आज १० असारमा सार्वजनिक गर्ने तयारी गरेको छ ।

अनुमान गरिएको खर्च व्यहोर्ने आन्तरिक स्रोतबाट ९४ करोड ३६ लाख, राजस्व बाँडफाँटबाट ५८ करोड ९३ लाख, प्रदेश सरकारको विभिन्‍न अनुदानबाट ९ करोड ५८ लाख, सङ्घीय सरकारको अनुदानबाट १ अर्ब ६ करोड ९५ लाख बेहोरीने गरी तयारी गरिएको बुझिएको छ ।


यस्तै अन्य आय र संघसंस्था अनुदानबाट १ करोड ९६ लाख व्यहोरिने गरी बजेट ल्याउने तयारी भएको स्रोतले जनाएको छ ।

तर सार्वजनिक गर्दै गरिएको बजेट एकलौटी रुपमा तयार गरिएको भन्दै तिव्र विरोध  भएको छ । नगर कार्यपालिका सदस्यहरूबीच मनमुटाव हुँदा आगामी बजेट माथि पनि सल्लाह र सहमति हुन सकेको छैन ।

३ दिनअघि नगरको कार्यपालिका बैठक बसेर नीति तथा कार्यक्रम प्रस्ताव गर्ने तयारी भएको थियो । तर कार्यपालिका बैठकमा बहुमत नपुगेपछि नीति तथा कार्यक्रममाथि छलफल नै भएन ।

कार्यपालिकामा एमालेको स्पष्ट बहुमत छ । एमाले सदस्यहरूले बैठक सञ्चालन कार्यविधि संशोधन गर्न माग गरेपछि बैठकमा सहमति हुन सकेको छैन । एमाले सदस्यहरूले राखेको प्रस्तावलाई पेलेर लैजान खोजिएको भन्दै विरोध जनाएका छन् ।

बजेट सार्वजनिक हुँदै गर्दा बहुमत कार्यपालिका सदस्यसँग छलफल नै नगरिएको भन्दै एमालेले विरोध जनाएको छ । एकलौटी ढंगले बजेट ल्याउन लागेकोमा आफूहरूको विरोध रहेको एमालेले जनाएको छ ।

जनताद्वारा निर्वाचित बहुमत कार्यपालिका सदस्यहरूसँग कुनै पनि छलफल नै नगरिकन एकलौटी ढंगले बजेट ल्याउन लागेको भन्दै असन्तुष्टि व्यक्त गरिएको हो । कार्यपालिका सदस्यहरूसँग बजेटबारे कुनै पनि छलफल नभएको एमालेबाट वडा अध्यक्ष विजयी भएका कार्यपालिका सदस्यहरूले बताएका छन् ।

हेटौंडाका १९ वटै वडाहरूका नागरिकलाई सम्बोधन गर्ने गरी बजेट ल्याउनका लागि सबै कार्यपालिका सदस्यहरूका बीचमा छलफल गरेर ल्याउनु पर्ने माग आफूहरूको रहेको एमालेको उपमहानगरपालिका संसदीय दलका नेता नविन सिग्देलले बताए ।

बजेट निर्माण गर्दा विभिन्‍न बिषयगत समितिमा छलफल गरिनुपर्ने भए पनि स्रोतका अनुसार हेटौंडा उमहानगरपालिकामा यस्ता विषयगत समितिहरू नै बनेका छैनन् ।

कार्यपालिका बैठकले पास नगरिएको, चुनावका बेलाका गठबन्धनमा रहेका दलका प्रतिबद्धता अनुसार मात्र बजेट हालिएको, बैठक कार्यविधि संशोधन गर्न मेयर लामाले निवेदन समेत दर्ता गर्न नमानेको लगायतका विषयमा आफूहरूको असन्तुष्टि रहेको सिग्देलले बताए

उपमहानगरपालिकामा विजयी एमालेका ५४ जना नगरसभा सदस्यहरूसहितको बैठकले स्थानीय सरकार सञ्‍चालन ऐन सञ्चालन सम्बन्धी बैठक कार्यविधि संशोधनका लागि दर्ता गराउन निवेदन दिदा दर्ता गर्न अस्वीकार गरिएको सिग्देलले बताए ।
 
एमालेका प्रदेश कमिटीका सदस्य रघुनाथ खुलाल, जिल्ला अध्यक्ष एकालाल श्रेष्ठसहितको बैठकले सहमति र सहकार्यबाट मात्र बजेट ल्याउनका लागि नगरका मेयर मिना लामा र उपमेयर राजेश बानियाँलाई आग्रह गरिएको उनले बताए ।

उपमहानगरपालिका वडा अध्यक्षहरूलाई समेत कुनै वास्ता नगरिकन बजेट ल्याउन खोज्नु जनभावना विपरित भएको हेटौंडा १५ का वडा अध्यक्ष सुनिल मुक्तानले बताए ।

सहकार्य र छलफलका लागि एमालेका तर्फबाट हेटौंडा १८ का वडाध्यक्ष अनिल बानियाँको संयोजकत्वमा तीन सदस्य समिति चयन गरिएको छ ।  जसमा सदस्यहरूमा हेटौंडा–१५ का वडा अध्यक्ष सुनिल मोक्तान, हेटौंडा–१० का वडा अध्यक्ष फुर्वा दोर्जे लामा रहेका छन् ।


Author

थप समाचार
x