बागमती

आन्तरिक सहमति नजुट्दा अझै सुरु भएन हेटौंडाको नगरसभा

एमालेबाट निर्वाचित कार्यपालिका सदस्य हल बाहिरै

सरिता दाहाल |
असार १०, २०७९ शुक्रबार १३:२५ बजे

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको आज तय गरिएको नगरसभा अझै हुन सकेको छैन । एमालेबाट निर्वाचित कार्यपालिका सदस्यहरुको अडानका कारण आन्तरिक सहमति नजुट्दा नगरसभा हुन नसकेको हो । एमालेबाट निर्वाचित कार्यपालिका सदस्यहरु हलभित्र प्रवेश नै गरेका छैनन् । नगरसभा बिहान १० बजेबाट सुरु गरिने तयारी थियो । आगामी आर्थिक वर्षका लागि बजेट ल्याउने तयारी गरिएपनि सभा हुन सकेको छैन ।

सहमतिका लागि पार्टी कमिटी तहको बैठक चलिरहेको बुझिएको छ । नेपाली काँग्रेसका जिल्ला अध्यक्ष बुद्व लामा, नेकपा एकीकृत समाजवादी जिल्ला अध्यक्ष सूर्यचन्द्र न्यौपानेलगायतको गोप्य बैठक हेटौंडाको होटल एभोकाडोमा बसिरहेको छ । यद्यपि उनीहरूको फोन सम्पर्क भएको छैन । सार्वजनिक गर्दै गरिएको बजेट एकलौटी रुपमा तयार गरिएको भन्दै एमालेले बिरोध गरेको हो । 


चार दिनअघि नगरको कार्यपालिका बैठक बसेर नीति तथा कार्यक्रम प्रस्ताव गर्ने तयारी भएको थियो । तर कार्यपालिका बैठकमा बहुमत नपुगेपछि नीति तथा कार्यक्रममाथि छलफल नै भएन । कार्यपालिकामा एमालेको स्पष्ट बहुमत छ । एमाले सदस्यहरुले बैठक सञ्चालन कार्यविधि शंसोधन गर्न माग गरेपछि बैठकमा सहमति हुन सकेको छैन । एमाले सदस्यहरुले राखेको प्रस्तावलाई पेलेर लैजान खोजिएको भन्दै विरोध जनाएका हुन् । एमालेबाट विजय कार्यपालिका सदस्य नगर सभाको हलमै पसेका छैनन् । हलमा कर्मचारी र पत्रकारहरूको मात्रै चहलपहल छ । बजेट सार्वजनिक हुँदै गर्दा बहुमत कार्यपालिका सदस्यसँग छलफल नै नगरिएको भन्दै एमालेले विरोध जनाएको छ । 

एकलौटी ढंगले बजेट ल्याउन लागेकोमा आफूहरुको विरोध रहेको एमालेले जनाएको छ । जनताद्वारा निर्वाचित बहुमत कार्यपालिका सदस्यहरुसँग कुनै पनि छलफल नै नगरिकन एकलौटी ढंगले बजेट ल्याउन लागेको भन्दै असन्तुष्टि ब्यक्त गरिएको हो । कार्यपालिका सदस्यहरुसँग बजेटबारे कुनै पनि छलफल नभएको एमालेबाट वडा अध्यक्ष विजयी भएका कार्यपालिका सदस्यहरुले बताएका छन् । 

कार्यपालिका बैठकले पास नगरिएको, चुनावका बेलाका गठबन्धनमा रहेका दलका प्रतिबद्धता अनुसार मात्र बजेट हालिएको, बैठक कार्यविधि संशोधन गर्न मेयर लामाले निवेदन समेत दर्ता गर्न नमानेको लगायतका विषयमा आफूहरुको असन्तुष्टि रहेको वडा अध्यक्ष नवीन सिग्देलले बताए । उपमहानगरपालिकामा विजयी एमालेका ५४ जना नगरसभा सदस्यसहितको बैठकले स्थानीय सरकार सञ्चालन ऐन सञ्चालन सम्बन्धी बैठक कार्यविधि शंसोधनका लागि दर्ता गराउन निवेदन दिदा दर्ता गर्न अस्वीकार गरिएको सिग्देलले बताए । उपमहानगरपालिका वडा अध्यक्षहरुलाई समेत कुनै वास्ता नगरिकन बजेट ल्याउन खोज्नु जनभावना विपरित भएको हेटौंडा १५ का वडा अध्यक्ष सुनिल मुक्तानले बताए ।
 


Author

थप समाचार
x