बागमती

यसकारण स्थगित भयो हेटौडाको नगरसभा

सरिता दाहाल |
असार १०, २०७९ शुक्रवार १८:२३ बजे

मकवानपुर । नेकपा एमाले मकवानपुरले हेटौंडा उपमहानगरपालिकाको ११ औं नगर सभा स्थागित गर्नुको कारण र आफ्नो धारणा स्पष्ट पारेको छ । यता नगरपालिकाले पनि पालिकाको धारणा स्पष्ट सार्वजनिक गरेको छ । नगर प्रमुख मिनाकुमारी लामाले नगरसभा स्थगित गरेको केही बेरमा पत्रकार सम्मेलन गर्दै एमालेले आफ्नो धारण सार्वजनिक गरेको हो ।

हेटौंडामा नगर प्रमुख र उपप्रमुखले हठ र घमण्ड गरी बैठक स्थगित गरेको पार्टीको आरोप छ । यसप्रति एमालेका कार्यपालिका सदस्यहरुको विरोध जनाएका छन् । नेकपा एमाले हेटौँडा उपमहानगरपालिका दलले आफ्ना पार्टीका बहुमत नगरसभा सदस्यहरुलाई कुनै वास्ता नै नगरि एकलौटी ढंगले बजेट ल्याएकोमा विरोध गरेको दाबी गरेको छ ।


पटकपटकको छलफलमा मेयर र उपमेयरले आफ्ना हठ नत्यागेकाले सहमति जुट्न नसकेको एमालेका कार्यपालिका सदस्यहरुले बताएका छन् । एमाले उपमहानगरपालिका दलका नेता तथा वडा अध्यक्ष नवीन सिग्देलले हेटौँडा उपमहानगरपालिकाको यस कार्यकालको प्रथम नगर सभामा नगर प्रमुखले हठ र घमण्ड गरि बैठक स्थगित गरेको प्रति बहुमत कार्यपालिका सदस्यहरुको गम्भीर ध्यानकर्षण भएको बताए ।

मेयर र उपमेयरले एकलौटी ढंगले नीति, कार्यक्रम र बजेट निर्माण गरेको र विषयगत समिति नबनाई, कुनै पनि कार्यपालिका सदस्यहरुलाई सहभागी नगराई बजेट सभामा ल्याएकोमा विरोध गरिएको सिग्देलले बताए । विधिसम्मत छलफल नगर्नु, नगर कार्यपालिका बैठकले पारित गरि नगरसभामा पेश गर्नुपर्नेमा नगर प्रमुख र उपप्रमुखले मनोमानी, एकलौटी र असम्बन्धित व्यक्तिहरुको संलग्नतामा बजेट तयार गरि सिधै नगरसभामा प्रस्तुत गर्ने तयारीलाई सच्चाउनु पर्ने माग राखिएको हेटौंडा–१५ का वडा अध्यक्ष सुनिल मुक्तानले बताए ।

नगरसभालाई सरल र सहज ढंगबाट सञ्चालन गर्नका लागि मकवानपुरमा क्रियाशील दलहरुका नेताहरु समेत बीचको सहमतिलाई नगर प्रमुखले अटेर गरि नगरसभा स्थगित गर्नु सबैको लागि दुःखद् विषय बनेको र यस्तो गैर जिम्मेवारपूर्ण भएको उनले बताए । आवश्यक छलफल र गृहकार्यविना नगरवासीको बृहत्तर हित विपरीत निर्वाचन ताका कै गठबन्धनको धङ्धगीबाट मुक्त हुनुपर्ने, नगर प्रमुखले सबैको र साझा चरित्र देखाउन पर्ने, स्थानीय सरकार सञ्चालन ऐनको मर्म र भावना विपरीत र बाझिएका निमावली र कार्यविधि संसोधनका लागि नगरसभाका बहुमत सदस्यहरू ५४ जनाको हस्ताक्षरसहित पेश गरेको संसोधन प्रस्तावको दर्ता गर्नुपर्ने र नगर प्रमुख असंवैधानिक, अलोकतान्त्रिक र असहिष्णु प्रवृत्तिबाट मुक्त हुनुपर्ने माग राखिएको हेटौंडा–१९ का वडा अध्यक्ष नरनाथ सुवेदीले बताए ।

नेपाली कांग्रेसका सभापति बुद्व लामा तथा नेकपा एमालेका अध्यक्ष एकालाल श्रेष्ठ तथा अन्य पार्टीका प्रमुखहरूसहित संसोधन प्रस्ताव नगर प्रमुखद्धारा नगरसभामा सम्बोधन गर्ने प्रतिबद्वता व्यक्त गर्ने र अन्य विषय सहमतिको आधारमा अगाडि बढ्ने सर्वदलीय सहमति समेत नगर प्रमुखले अटेर गरि आफूलाई जनताको सेवक नभई निरंकुश शासकको रुपमा प्रस्तुत भई नगरसभा अकस्मात स्थगित गर्नु अनुचित रहेको हेटौंडा–४ का वडा अध्यक्ष समेत रहनु भएका नविन सिग्देलले बताए ।

यता हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सबिन न्यौपानेले भने एमालेका कार्यपालिकाका सदस्यहरुको हठका कारण नगर सभा स्थगित गर्नुपरेको बताएका छन् । उपमहानगरपालिकामा पत्रकार सम्मेलन गर्दै उनले गणपूरक संख्या नपुग्दा नगर सभा स्थगित गर्नुपरेको बताए । “एमालेमा बहुमतको दम्भ देखियो” उनले भने “जनताको कामै प्रभावित हुने गरी विरोध जनाउनु राम्रो हैन ।”


Author

थप समाचार
x