बागमती

तीन दिनअघि स्थगित हेटौंडा उपमहानगरको नगर सभा आज

इकागज |
असार १२, २०७९ आइतवार ७:५२ बजे

मकवानपुर - हेटौंडा उपमहानगरपालिकाको नगर सभा आज दिउँसो १ बजेलाई बोलाइएको छ । नेकपा एमालेबाट वियजी कार्यपालिका सदस्यहरूले आफ्नो माग पुरा गर्न दबाब दिंदै नगरसभामा अनुपस्थित भएपछि तीन दिनअघि स्थगित नगरसभा नगर प्रमुख मिनाकुमारी लामाले आजको लागि बोलाएकी हुन् ।

कार्यपालिका बैठकमा आफूहरूको माग बेवास्ता गरेको भन्दै नगर सभामा एमालेबाट विजयी सदस्यहरू अनुपस्थित भएका थिए । बहुसंङ्ख्य सदस्यहरू अनुपस्थित हुँदा गाँउ नगर जिल्ला सभा सन्चालन ऐन २०७५ को दफा ५ को उपदफा १ बमोजिम गणपुरक संख्या नपुगेकोले १० असारमा बोलाइएको नगरसभा स्थगित गरिएको थियो ।


उक्त दफाको उपदफा २ बमोजिम नगर प्रमुखद्धारा अर्को नगरसभा आज आह्वान गरिएको हो । कार्यपालिकाका एमाले सदस्यहरूले कार्यपालिका बैठक सञ्चालन कार्यविधि शंसोधनको माग राख्दा लगातार बैठकमा अनुपस्थित हुँदै आएका छन्, यता गठबन्धनबाट विजयी मेयर उपमेर र कार्यपालिका सदस्यहरूले कार्यविधि सच्याउनमा चासो देखाएका छैनन् ।

नगरप्रमुख र उपप्रमुखले हठ र घमण्डगरी बैठक स्थगित गरेको आरोप लगाउँदै आएको नेकपा मकवानपुरले आफूहरूको माग सम्बोधन नभएको कारण आजको सभामा पनि उपस्थित नहुने बताएको छ।

हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमहरू कार्यान्वयन गर्न २ अर्ब ७१ करोड ७९ लाख बजेट आज १० असारमा सार्वजनिक गर्ने तयारी गरेको छ । नीति तथा कार्यक्रम र बजेटको तयारी गर्दा वडा अध्यक्षहरूसँग कुनै पनि सहकार्य नगरिएको प्रति वडा अध्यक्षहरूले आक्रोस पोखेका छन् ।

१८ जना कार्यपालिका सदस्य रहेको एमालेले बैठक संचालन कार्यविधि–२०७४ को १५(२) र १५(३) मा रहेको ब्यवस्थालाई संसोधन गरिनुपर्ने माग राखेको छ । हेटौँडा उपमहानगरपालिकाको कार्यपालिकामा एमालेबाट १८ जना, कांग्रेसबाट ९ तथा नेकपा एकिकृत समाजवादीबाट २ जना सदस्यहरू रहेका छन् । नगरसभामा पनि नेकपा एमाले ५१ जना सहित पूर्ण बहुमतमा छ । कानुनी व्यवस्था अनुसार असार १० गते सवै स्थानीय तहले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नु पर्ने तथा असार मसान्तमा प्रस्तुत नीति तथा कार्यक्रम पारित गर्नु पर्ने हुन्छ ।


Author

थप समाचार
x