बागमती

विपद् व्यवस्थापनका लागि तयार रहन मन्त्री लामाको अनुरोध

इकागज |
असार १५, २०७९ बुधबार १४:१५ बजे

मकवानपुर- बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन सरोकारवालाहरूलाई अनुरोध गरेका छन् ।

मनसुन सुरू भएपछि बुधबार प्रेस वक्तव्य जारी गर्दै मन्त्री लामाले देशका विभिन्‍न स्थानमा भारी वर्षा भइरहेकाले बाढी, पहिरो, डुबान, कटान जस्ता प्राकृतिक विपद् आउन सक्ने भएकाले यसको व्यवस्थापनका लागि तयारी अवस्थामा रहन सरोकारवालाहरूलाई अनुरोध गरेका हुन् ।


उनले विपद्का कारण हुन सक्ने धनजनको क्षति कम गर्न जिल्ला स्वास्थ्य कार्यालय, स्थानीय तह तथा स्वास्थ्य संस्थाहरूमा द्रुत प्रतिकार्य टोली र आवश्यक स्वास्थ्य सामग्री तयारी अवस्थामा राख्‍न भनेका छन् । विपद् वा यसका कुनै संकेत देखिएमा यथाशिघ्र उपलब्ध सञ्‍चारमाध्यम वा सामाजिक सञ्‍जालमार्फत प्रभावित क्षेत्रका बासिन्दा र सरोकारवालाहरूलाई सूचित गरी मानवीय र भौतिक क्षति न्यूनीकरण गर्न सहयोगका लागि मन्त्री लामाले सबैसँग अनुरोध गरेका छन् । 

मन्त्री लामाले प्राकृतिक विपद् आएमा खानेपानी प्रदूषण र सरसफाइको कमीका कारण विभिन्‍न किसिमका संक्रामक रोग फैलन सक्ने भएकाले यसका लागि आवश्यक औषधि एवं जनशक्ति तयारी अवस्थामा राख्‍न र कुनै पनि विपद् देखा परेको अवस्थामा सहयोग आवश्यक परेमा मन्त्रालयमा जानकारी गराउन समेत अनुरोध गरेका छन् ।

बागमती प्रदेशको काभ्रे, सिन्धुपाल्चोक, धादिङ, मकवानपुर, रसुवा, नुवाकोटलगायतका क्षेत्रमा मनसुन सुरू भएसँगै बाढी पहिरोको जोखिम बढेको छ । तर सरोकारवालाहरूले पूर्व तयारी गरेका छैनन् ।


Author

थप समाचार
x