बागमती

हेटौंडा-काठमाडौँ आवतजावत गर्ने ३ वटै छोटो मार्ग अवरूद्ध‍

इकागज |
असार १५, २०७९ बुधबार १९:५५ बजे

मकवानपुर- मकवानपुर हुँदै काठमाडौँ जोड्ने ३ वटै छोटो मार्गहरू अवरूद्ध भएका छन्  । 

दुई दिनदेखि निरन्तर वर्षा भएपछि मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर-४ केराघारीमा पहिरो गएको छ । पहिरो गएपछि हेटौंडा-भीमफेदी-कुलेखानी हुँदै काठमाडौँ जोड्ने सडक अवरूद्ध भएको मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए । 


यता हेटौंडाबाट काठमाडौँ जोड्ने अर्को मार्ग पनि बन्द रहेको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं ३ रामचन्द्र भञ्ज्याङमा पनि पहिरोले बाटो अवरूद्ध हुँदा हेटौंडा-सिस्नेरी हुँदै काठमाडौँ जाने बाटो पनि अवरूद्ध भएको छ । 

यता हेटौँडाबाट काठमाडौँ जोड्ने कान्ति लोकपथ वर्षासँगै सवारी आवागमनमा जोखिम भएको भन्दै रोक लगाइएको छ । 

निर्माणकै क्रममा रहेको उक्त सडकमा वर्षाका कारण हुन सक्ने खतरालाई मध्यनजर गर्दै सवारी आवतजावतमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले बताए । 

बारा, पर्सालगायतका तराईका जिल्लाहरूबाट मकवानपुरको सिस्नेरी हुँदै र मकवानपुरको भिमफेदी, कुलेखानी हुँदै दैनिक हजारको संख्यामा टाटा सुमोहरू संचालन हुने गरेको छन् ।


Author

थप समाचार
x