बागमती

कृषक र कृषिको विकासलाई प्राथमिकता दिइनेछ : नगर प्रमुख

इकागज |
असार १५, २०७९ बुधबार २०:१६ बजे

मकवानपुर-  हेटौंडा उपमहानगरपालिकाले कृषक र कृषिको विकासलाई प्राथमिकता दिने नगर प्रमुख मिनाकुमारी लामाले बताएकी छन् ।
धान दिवसको अवसरमा हेटौंडाको १७ र ११ नम्बर वडामा आयोजित धान रोपाइँ कार्यक्रममा कृषक र कृषिको विकासका लागि बजेटनै छुट्याएर काम गर्ने उनले बताइन् ।

बुधबार मनाइएको धान दिवसमा हेटौंडा ११ को राप्ती सिँचाइ र हेटौंडा १७ को गुवाबारीमा आयोजित कार्यक्रममा कृषि क्षेत्रको विकास र प्रवर्द्धनमा उपमहानगरले कुनै कसर बाँकी नराख्‍ने लामाकाे भनाइ छ । लामाले कृषि, पशुपालन र अन्य खेतीका लागि बिशेष योजना नै बनाएर काम गर्ने तयारीमा उपमहानगर रहेको जानकारी दिइन् । अहिलेसम्म वास्तविक किसानलाई सरकारले भेट्न नसकेको दाबी गर्दै लामाले आफू वास्तविक किसानको कार्यस्थलमै पुगेर काम गर्ने तयारीमा रहेको बताइन् ।


‘उपमहानगरका हरेक वडामा कृषि प्राविधिकको व्यवस्था गरिने छ,’ नगर प्रमुख लामाले भनिन्, 'आगामी आर्थिक वर्षको बजेटमा कृषिका हरेका क्षेत्रलाई समेटेर काम गर्ने तयारीमा उपमहानगर रहेको छ ।' उनले कृषिको पकेट क्षेत्र, पशुपालनका योजनासहित आउन कृषक समूहहरूलाई आव्हान गरिन् ।

कार्यक्रममा उपमहानगरका उपप्रमुख राजेश बानियाँले मानो रोपेर मुरी उब्जाउने पेशामा रहेका सम्पूर्ण किसानलाई धान दिवसको शुभकामना दिएका थिए । उनले उपमहानगरलाई सबै हिसाबले अब्बल बनाउने अभियानमा रहेकाले सबैको सहयोग आवश्यक रहेको बताए । कार्यक्रम नगर प्रमुख उपप्रमुखले धान रोपाइँमा समेत सहभागी भएका थिए ।


Author

थप समाचार
x