बागमती

जिल्ला अदालत मकवानपुरद्वारा विभिन्न घटनाका पीडितलाई २७ लाख क्षतिपुर्ति भरण

सरिता दाहाल |
साउन ८, २०७९ आइतवार ११:१६ बजे

मकवानपुर । ८ माघ २०७६ मा मकवानपुरको हेटौंडा उपमहानगरपालिका ५ क्याम्पाडाँडामा मृत अवस्थामा भेटिएकी एक तेस्रो लिङ्गीको परिवारले ३ वर्षको अन्तरालमा बल्ल क्षतिपुर्ति पाएका छन् ।

केही सवारी चालकहरुले उनीमाथि बलात्कारपछि हत्या गरेर साथमा रहेको मोबाइल र गहना लुटेका थिए । हत्यामा संलग्न ३ जनालाई जिल्ला अदालतले आजीवन कैदको फैसला गरेको थियो तर उनको परिवारले पाउनु पर्ने क्षतिपुर्ति पाएका थिएनन् ।

०७८ माघ २० मा भएको फैसलामा पीडितको परिवारलाई सरकारी राहत कोषबाट क्षतिपूर्तिबापत ६ लाख रुपैयाँ प्रदान  गर्ने आदेश जिल्ला अदालतले गरेपछि परिवार क्षतिपुर्ति बापतको रकम हालैमात्रै प्राप्त गरेका छन् ।

पीडितको परिवारले सरकारी राहत कोषबाट गत शुक्रबार क्षतिपूर्ति बापतको रकम पाएका हुन् । अदालतका स्रेस्तेदार तीर्थराज भट्टराईका अनुसार यो आर्थिक वर्षमा अदालतले फैसला गरेका मुद्दामा तोकिए अनुसारको रकम प्रदान गरेको छ । क्षतिपूर्तिसहितको न्यायको वकालत गर्दै भएको यस व्यवस्था अनुसार अदालतले कसैलाई पीडक भनेर फैसला गरिसकेपछि उसबाट क्षतिपूर्ति असुल गरी पीडितलाई उपलब्ध गराउनुपर्छ ।

गत आर्थिक वर्ष ०७८/७९ मा मकवानपुर जिल्ला अदालतले २३ जना पीडितलाई २७ लाख ५ हजार रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराएको छ ।

गत आवमा अदालतमा क्षतिपूर्ति माग गर्दै ३२ जना पीडितहरुले निवेदन दिएका थिए । तीमध्ये ९ जना क्षतिपूर्तिबापतको रकम लिन आएका छैनन् । गत वर्ष पीडकबाट १० लाख ५ हजार रुपैयाँ जरिवाना रकम प्राप्त भएको थियो । पीडित राहत कोषबाट १७ लाखसहित कुल २७ लाख ५ हजार रुपैयाँ २३ पीडितहरूलाई उपलब्ध गराएको स्रेस्तेदार भट्टराइले बताए ।

क्षतिपूर्ति लिन आउन अदालतले सूचना जारी गरेको तर सबै पीडित परिवार सम्पर्कमा नआएको उनले बताए । क्षतिपुर्ति लिनेहरुका अधिकांश बलात्कार र हत्या गरिएका परिवारका सदस्य रहेका छन् । मकवानपुर जिल्ला अदालतले एउटै मुद्दाका एउटै पीडकबाट १ करोड १४ लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराउने फैसला समेत गरेको उनले स्मरण गरे ।

प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै ९ वैशाख ०७० मा हेटौंडाकी २० वर्षीया युवतीमाथि एसिड प्रहार गर्ने भारत अमरपूर्वन–६ का ‘राज’ भनिने दिलीपराज केशरीलाइै दोषी ठहर गर्दै अदालतले उक्त क्षतिपूर्ति तोकेको थियो ।

तर, फैसला भएको १८ महिना बितिसक्दा पीडक पक्षले क्षतिपूर्ति रकम दाखिला गरेको छैन । प्रतिवादी भारतीय नागरिक भएकाे र उनकाे नामको सम्पत्ति नेपालमा नरहेकाले सरकारले नै पीडितलाई राहत कोषबाट रकम उपलब्ध गराउनुपर्ने अदालतको भनाइ छ ।

एसिड प्रहार गरेर अनुहारको रुप बिगारेको उक्त नेपालकै पहिलो एसिड काण्ड हो । कानुनी लगाइमा आफूले जितेपछि पीडितले अझैसम्म फैसलामा भनिए अनुसारको क्षति रकम पाएकी छैनन् ।

न्यायका लागि अदालतको ढोकासम्म आइपुगेकाका लागि न्यायसँगै राहत उपलब्धमा समेत सहायता प्रदान गर्न थालिएपछि न्यायप्रतिको आशा बढेको छ । तर फैसला अनुसारको रकम भने समयमै बिना झण्झट प्राप्त हुनुपर्ने पीडितको परिवारको भनाइ छ ।



Author

थप समाचार
x