बागमती

व्यवसायमा युवा : सानाे लगानीले नै दिलायो पूर्ण सन्तुष्टि

सरिता दाहाल |
साउन १४, २०७९ शनिबार १९:१५ बजे

मकवानपुर । वाग्मती गाउँपालिका ५ का २१ वर्षीय दिकाश लोप्चनको दैनिकी अचेल मोबाइल मर्मत गरेर बित्छ । गाउँपालिका कार्यालय सामुन्ने उनको सानो पसल छ । हेर्दा पसल सानो छ, तर लोप्चनको ठूलो सपना पूरा गर्न सहायता गरिरहेको छ पसलले ।

स्नातक तह चौथो वर्षमा अध्ययनरत उनलाई अध्ययनलगायतका लागि आर्थिक समस्या छैन । परिवारसँग पनि उनले सहयोग लिनु परेको छैन, बरु आर्थिक सहायता गर्दछन् परिवारलाई । अध्ययनसँगै उनले मोबाइल मर्मतको ६ महिना तालिम लिए । तालिम पाएर हौसिएका उनले ४५ हजार लगानी गरेर पसल सुरु गरेका हुन् । 


पसल सुरुवात गर्न नारी सीप सिर्जना केन्द्रले ११ हजार बराबरको सामग्री सहयोग गर्‍यो । अब आफ्नो जीविकाको लागि कुनै समस्या नभएको बताउँछन् उनी । केन्द्रले सामग्री सहयोग गरेसँगै दीगो रुपमा व्यवसाय गर्ने सीपबारे ५ दिने तालिम पनि लिए । सो तालिम र सहायता पाएपछि व्यवसाय चलाउन सजिलो भएको उनी बताउँछन् ।

४५ हजार लगानी गरेका उनले अहिले दिनमै १५ सय कमाउँछन् । “लगानी ४५ हजार त एक महिनामै उठाए उनले” नारी सिप सिर्जना केन्द्रका सामाजिक परिचालक केवल बिकले भने “दिकाशको लगानशीलता युवाको लागि उदाहरणीय छ ।”

“विदेशमा मात्रै पैसा कमाउन सकिन्छ भन्ने छैन, जाँगर चाहिन्छ” दिकाश भन्छन् “हामी थोरै लगानी गरेर आफ्नै देशमा आफ्नै गाउँमा ब्यापार व्यवसाय वा अन्य कुनै न कुनै काम सुरु गर्न सक्छौ ।” सबै सफलता मिल्ने महान व्यक्तिहरुले पनि सुरुवात शून्य लेभलबाट नै सुरु गरेका कथा पढेर आफूलाई काम गर्ने हिम्मत जागेको बताउँछन् उनी । “समस्या बाधा आएता पनि धैर्यता र सहनशीलताले एक दिन अवश्य सफलता मिल्नेछ” उनले भने । लोप्चन झण्डै १ वर्षदेखि यो पेशामा छन् ।

बागमती गाउँपालिका २ बजार टोलकी सोनी माझीको दैनिकी बंगुरको स्याहारमा बित्छ । पाठापाठीसहित गरी झण्डै २ दर्जन बंगुर पालेकी छिन् सोनीले । काम नगरी बस्दा बस्नुपर्दा मनोसामाजिक समस्या हुने गरेको बताउने उनी अब भने बंगुरसँगै रमाउँछिन् । बंगुरको स्याहारमा उनी समय कटाउँछिन् । “काममा व्यस्त भएपछि मनमा अनेक कुरा नखेल्ने रैछ, कामकै ध्यान हुने, आफू पनि स्वस्थ्य हुने, आम्दानीको बाटो पनि बन्ने” उनले भनिन् “थोरै लगानीमा सहयोग पाएपछि आफूले अरु पनि थपेर पाल्न सक्छु भन्ने लाग्यो ।”

नारी सीप सिर्जना केन्द्रले उनलाई बंगुर व्यवसायका लागि ४ वटा बंगुर सहयोग गरेपछि उनी व्यवसायिक रुपमा बंगुर पाल्न झनै हौसिएकी थिइन् । “४ पाल्ने मेहनतमा १० पाल्न सक्छु भन्ने आँट आयो अनि थपें” उनले भनिन् “अहिले सबै गर्भिणी छन्, सबैले पाठापाठी दिँदा राम्रो आम्दानी हुनेछ ।” गएको मंसिरमा सो संस्थाले उनलाई सहयोग गरेको थियो ।

बंगुर वितरण गर्नुअघि केन्द्रले पालनको बारेमा ७ दिन तालिम दिएको थियो । सानोतिनो समस्या र दानापानीको मात्रा सोनी आफैं हेर्न सक्छिन्। “घरमा उसै बस्दा खाली दिमाग के के सोच्न आउँथ्यो, तनाव हुन्थ्यो, अब कामले भ्याई नभ्याई हुँदा, केही तनाव पनि हुन्न, म त बंगुरको स्याहार गर्दै गीत गाउँदै काम गरिरहन्छु,” उनले भनिन्, “निकै खुशी छु, आफ्नो कामको क्षमता नचिनेर रहेछ म आफैं तनावमा थिएँ ।” उनलाई खोर निर्माणमा बागमती गाउँपालिकाले अनुदान प्रदान गरेको छ । 

उनी जस्तैै स्थानीय सुन्तली माझीले पनि १२ वटा बंगुर पालेकी छिन् । यसबाट आफ्नो आय आर्जनमा निकै राहत पाएको सुन्तलीले बताइन् ।

यसै वडाको टाँडीचोककी दहमाया पुलामी अचेल टमाटरको टनेलको स्याहारमा व्यस्त हुन्छिन् । “पहिलो अचार खाने रहर हुँदा टमाटर किन्थे अहिले बेचेर घरखर्च चलाएको छु” उनले भनिन् “थोरै दुख गरेर पनि पैसा कमाउन सकिएला भन्ने सोचकै थिएन मैले ।”

उनले हाँस्दै भनिन् “करेसा बारी मै यस्तो पैसा कमाउँन सकिने रहेछ, हामीले नै अल्छी गरेर रहेछ ।” केन्द्रले नै टनेल निर्माणका लागि र बिरुवासमेत सहयोग गरेपछि आफूले सजिलै टमाटर र खुर्सानी उत्पादन गरेको उनले सुनाइन् । 

केही लट टमाटर बेचेर, घरमै खर्च भएको र अबको आम्दानीबाट चाहिँ अर्को टनेल थप्ने योजना रहेको उनले सुनाइन् । “करेसाबारीमा दुई तीन बोट लगाउँथ्यौं, फले खाइन्थ्यो, नत्र वास्तै हुन्थेन, अब त धेरै लगाएपछि माया र स्याहार गर्छौ, आम्दानी पनि राम्रो छ” उनले भनिन् “दुःख हैन तरिका जान्नु पर्ने रहेछ ।” उनीहरुलाई टनेल निर्माण गरेर बिरुवा वितरण गरेर, थोपा सिँचाइको व्यवस्था समेत संस्थाले गरेको नारी सीप सिर्जना केन्द्रकी फिल्ड संयोजक गीता अर्यालले बताइन् ।

यसैगरी यसै पालिकाको वडा नम्बर ४ को पाँच पाण्डवमा बोयर प्रजातिको बाख्राको बोका केन्द्रले सहयोग गरेपछि ब्याडे बोकाबाट उन्नत प्रजातिको पाठापाठी उत्पादनमा सहयोग भएको छ । महिला समूहको जिम्मेवारीमा रहने गरी प्रदान गरिएको बोयर प्रजातिको बोकाबाट यो क्षेत्रमा सयभन्दा बढी पाठापाठी उत्पादन भएका छन् ।

यी युवाहरु प्रतिनिधि उदाहरण मात्रै हुन् । साना–साना लगानीमा लगाव रहन सकेमा जीविकोपार्जनमा राम्रो सहायता पुग्न सक्छ । आफूमा विश्वास धैैर्यता आवश्यक हुने बताउँछन् उनीहरु । साना–साना काममा सहयोग गरेरै भएपनि जीविकोपार्जनमा सहयोग पुग्ने भएकोले वैदेशिक रोजगार नै जानु नपर्ने फापरबारीका युवा शंकर मगरले बताए । उनी आफैं पनि गाउँमै किराना पसल राखेर व्यवसाय गरिरहेका छन् ।

नारी सीप सिर्जना केन्द्रकी फिल्ड संयोजक अर्यालका अनुसार यस गाउँपालिकाको वडा २ मा १७ घरलाई ४ वटाको दरले बंगुर प्रदान गरिएको थियो, यसवर्ष १६ जनालाई दिने योजना रहेको छ । यसैगरी वडा १ देखि ५ सम्म ४८ घरलाई टनेल तरकारी खेतीका लागि सहयोग गरिएको थियो । यसैगरी वडा ३ को १६ जनालाई बाख्रा र सबै वडामा २० वटाका दरले कुखुरा दिएको थियो । ग्रामीण क्षेत्रमा आर्थिक वृद्धि भइ, स्कुल पढाउन र घर खर्चमा यसले धेरै सहयोग पु¥याएको फिल्ड संयोजक अर्यालले बताइन् । 

मकवानपुरमा मानव बेचविखन रोकथाम तथा सुरक्षित स्थागमन प्रबद्र्धन परियोजना अन्तरगत लागू गरिएको यो कार्यक्रमबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा युवाहरुले राहत पाएका छन् । मकवानपुर जिल्लाको राक्सिराङ र वाग्मती गाउँपालिकामा यो परियोजना लागू गरिएको परियोजना संयोजक ज्योती बम्जनले बताइन् । युवाहरुलाई स्वदेशमै रहेर उद्यम गर्न आत्म निर्भर रहन धेरै सहायता पुगेको उनले बताइन् ।

यो परियोजना लागू भएपछि युवाहरुलाई स्वरोजगारमा लाग्न प्रेरणा मिलेको केन्द्रको अध्यक्ष सरस्वती बर्तौलाले बताइन् । “जीविकोपार्जनको लागि असुरक्षित बराइँसराई गर्ने, विदेश जाने र दुख पाउने, कष्टकर जीवनबाट छुट्कारा दिलाउने हाम्रो लक्ष्य हो” अध्यक्ष बर्तौलाले भनिन् । युवालाई कुनै न कुनै रुपमा आफ्नो गाउँ ठाउँमा रहेर स्वरोजगार, सिर्जनशील र आत्मानिर्भर बनाउने र जोखिमबाट बचाउने अभियानमा संस्थाले सहयोग गरेको अध्यक्ष बर्तौलाले बताइन् ।

केन्द्रले स्थानीयवासीहरुलाई टोल टोलमा समूह बनाएर मानब बेचविखन रोकथाम तथा सुरक्षित स्थागमन प्रवद्र्धनका लागि टेवा पुग्ने गरी स्थानीय आवश्यकता, समस्या तथा समाधानको विषयमा सामुदायिक छलफलसमेत गर्ने गरेको छ । यस्ता छलफल केन्द्रहरुबाट स्थानीय आवश्यकता तथा समस्याहरुको उठान हुने र सम्बोधन गर्न सहज हुने गरेको सामाजिक सहजकर्ता बागमती गाउँपालिका वडा ३ की जानुका दोङले बताइन् । सरसफाइलगायतको पाटोमा पनि महिलाहरु अग्रसर भएको उनले बताइन् ।

केन्द्रले जोखिम वर्गको उत्थानका लागि यो परियोजना लागू गरेको भएपनि लाभग्राही सबैले आफ्नो लागि संघर्ष कम गरेको स्थानीय जनप्रतिनिधिको भनाइ छ । संस्थाले वा पालिकाले गरेको सहयोगलाई आधार मानेर आफूहरुले पनि व्यवसाय वा सीप फैलाउने हो भने जीविकोपार्जनमा अझै धेरै राहत प्राप्त हुने बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले बताए ।

युवालाई स्वरोजगार र उद्यमी बनाउनको लागि गाउँपालिकाले पनि विभिन्न कार्यक्रमहरु ल्याएकोले यस्ता अवसरहरुमा सहभागी हुन अध्यक्ष घलानले आग्रह गरे । “सीप सिक्ने र मेहनत गर्ने हो भने आफ्नै गाउँ ठाउँमा रमाएर बस्न, सहजै जिविका चलाउन सकिन्छ” घलानले भने ।
 


Author

थप समाचार
x