बागमती

तुलसीपुरको स्थानीय पाठ्यक्रम तयार

इकागज |
साउन १९, २०७९ बिहीबार २१:४० बजे

फाइल तस्बिर

तुलसीपुर- तुलसीपुर उपमहानगरपालिकाले स्थानीय पाठ्यक्रम तयार पारेको छ । उक्त पाठ्यक्रम यस वर्षदेखि नै कार्यान्वयनमा आउने भएको छ ।

महानगरपालिकाका प्रमुख टीकाराम खड्काका अनुसार कक्षा १ देखि ८ सम्मका लागि पाठ्यक्रम तयार पारिएको भए पनि कक्षा ५ र ८ बाहेक अन्य कक्षामा यस वर्षदेखि नै कार्यान्वयनमा आउन लागेको हो । विसं २०७८ पुस महिनादेखि पाठ्यक्रम निर्माणको काम सुरु भएको हो । 


पाठ्यक्रममा कक्षा १ देखि ५ सम्म तुलसीपुरको परिचय, स्थानीय संरचना सेवा प्रवाह, तुलसीपुर क्षेत्रमा रहेका सम्पदा, पेसा, व्यवसाय र प्रविधि, मानवीय मूल्य र स्वास्थ्य शिक्षा, वातावरण र कर्तव्य, दुर्घटना र विपद् व्यवस्थापन शीर्षकमा तयार पारिएको छ भने कक्षा ६, ७ र ८ का यी विषयवस्तुसहित व्यावहारिक लेखनलाई समेत समेटिएको छ । पाठ्यक्रमभित्र सामाजिक, आर्थिक, धार्मिक, पर्यावरणीय विषयवस्तुलाई समेटिएको छ । 

पाठ्यक्रम तयार भएको भन्दै पाठ्यपुस्तकका रुपमा तयार पार्ने कामलाई समेत तीव्रता दिइने प्रमुख खड्काले बताए । उनले तुलसीपुर क्षेत्रको शिक्षाको अवस्थालाई माथि उठाउनका लागि सामुदायिक र संस्थागत विद्यालयको भूमिका महत्वपूर्ण भएकोसमेत बताए । पाठ्यक्रम आज सार्वजनिक गरिएको हो । रासस


Author

थप समाचार
x