बागमती

'गठबन्धन सरकारले विधि प्रक्रियाबिना कर्मचारी सरुवा गर्‍यो'

इकागज |
साउन २०, २०७९ शुक्रबार १९:३१ बजे

मकवानपुर- प्रदेश र संघीय चुनावको तयारीका लागि वर्तमान गठबन्धन सरकारले विधि प्रक्रियाबिना कर्मचारी सरुवा गरेको बताइएको छ । 

नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष एकनाथ कोइरालाले वर्तमान सरकारले हतार हतार यस्तो कार्य गरेको सुनाए । 'चुनावको मिति घोषणा गर्नु रहेछ अनि यति धेरै हतारिएर कर्मचारी चलाइएको रहेछ,' कोइरालाले भने । 


सरकारले विधि र प्रक्रिया नपुर्‍याएर उच्चस्तरका कर्मचारी सरुवा गरेको प्रति पेशागत संगठनको ध्यानाकर्षण भएको उनले बताए । 

स्थानीय तहहरूमा दैनिक ज्यालादारी र करारको कर्मचारी हटाउने र सोही प्रकृतिको कर्मचारी भर्ती गर्न सुरू गरिएको प्रति पनि संगठनले सच्चिनका लागि अनुरोध गरेको उनकाे भनाइ छ । 'एउटा विधिमा भर्ना भएका अस्थायी, ज्यालादारी करारका कर्मचारीलाई हटाउने र सोही पदमा आफ्नालाई भर्ती गर्ने क्रम चलेको प्रति संगठनले सबै तिर ध्यानाकर्षण गराएपछि मन्त्रालयहरूले संगठनको अनुरोधलाई उदृत गर्दै कर्मचारी ननिकाल्न सर्कुलर जारी भएको छ,' उनले भने । 

संगठनको प्रथम बागमती प्रदेश अधिवेशनको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । संगठनले आफ्नो हितमा मात्रै नभई जनताको हितमा जोडिएर काम गरेको बताए । संगठनले देशको ६८ जिल्लामा सहकारी संचालन गर्दै आएको छ  । जसमा ३ अर्ब पुँजी रहेको छ । पुँजीलाई सही र प्रभावकारी ढङ्गले सन्चालन गर्दै आएको कोइरालाले उल्लेख गरे । 

कोइरालाका अनुसार सहकारी मार्फत् रक्तदान सेवा, वृक्षरोपण, स्थायी पार्क निर्माण जस्ता काम गरिरहेको छ । यसैगरी स्वास्थ शिविर संचालन, शीत लहरमा न्यानो कपडा वितरण, बाढी पहिरो पीडितलाई सहयोग प्रदान जस्ता जनताको सेवामा कर्मचारी संगठन लागिपरेको उनले बताए । 

यसैबीच नेपाल निजामती संगठन बागमती प्रदेश कार्य समितिको भोलि हुने प्रथम प्रदेश अधिवेशनको सबै तयारी पूरा भएको आयोजकले जनाएको छ ।
भोलि हुने अधिवेशनले २९ सदस्यीय कार्यसमिति चयन गर्ने छ । अधिवेशनमा ५ सयभन्दा बढी कर्मचारी सहभागी हुने छन् । अधिवेशनमा १३ जिल्लाका ९८ जना प्रतिनिधिले सहभागिता जनाउने प्रदेश इन्चार्ज अर्यालले बताए । 

संगठनले भोलि बिहान प्रभातफेरि आयोजना गर्ने र त्यसपछि अधिवेशनको उद्घाटन गर्ने संगठनका प्रदेश इन्चार्ज बिष्णुप्रसाद अर्यालले जानकारी दिए । पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले अधिवेशनको उद्घाटन गरे छन् । नेपालको १ लाख २५ हजार कर्मचारीहरू विभिन्न पेशागत संगठनमा आवद्ध रहेका छन् ।


Author

थप समाचार
x