बागमती

बत्तीमुनि अँध्यारो बस्ती

सरिता दाहाल |
साउन २४, २०७९ मगलवार २१:५७ बजे

फाइल तस्बिर

मकवानपुर- देशको विद्युत् प्रसारण लाइनमा १०४ मेगावाट विद्युत् योगदान गर्दै आएको मकवानपुर जिल्लाको सबै क्षेत्रमा भने अझै विद्युत् विस्तार हुन सकेको छैन । कुलेखानी जलविद्युत् आयोजना भएको जिल्ला मकवानपुर जिल्लावासी बत्तीमुनिको अँध्यारो भने झै टुकीको उज्यालोमा बस्नु परेको हो ।

विकट गाउँपालिकामा विद्युत् विस्तार नहुँदा टुकीको साहारा लिनु परेको हो । कुलेखानी जलविद्युत् आयोजनाको पहिलो दोस्रो र तेस्रो आयोजना रहेको मकवानपुर जिल्लाकै बकैया गाउँपालिकामा विद्युत् विस्तार गरिएको छैन ।


बकैया गाउँपालिकाको वडा नंबर ७ को विकट गाउँ दरबार डाँडामा विद्युतको लागि पोल र ट्रान्सफर्मर राखिएको छ तर, विद्युत् विस्तार नहुँदा बिजुलीको उज्यालोमा बस्ने स्थानीयको आशा अधुरै रहेको छ ।

बिजुलीका लागि पोल गाडिएको १ वर्ष नाघिसकेको छ । गत माघमा ट्रान्सफर्मर समेत जडान गरिएपछि स्थानीयमा आशा बढेको थियो । दोस्रो स्थानीय निर्वाचन नजिकिदै गर्दा (३ महिनाअघि) नेपाली कांग्रेस बकैया समितिका नेताहरूले निर्वाचन लक्षित गरेर २ लाख रुपैयाँ भाडा तिरेर हेलिकोप्टर चार्टर्ड गरेर पुर्‍याएका थिए । तर, ट्रान्सफर्मर पुर्‍याएर फर्केका उनीहरूले उक्त स्थानमा बिजुली बल्यो कि बलेन भनेर चासोमा राखेका छैनन् ।

'नेताहरुले हेलिकप्टर स्टन्ट गरेर ट्रान्सफर्मर ल्याएर तस्विहरु खिचेर मात्रै गए,' एक स्थानीयले भने ।  निर्वाचनका बेलामा मात्र गाउँ आएर आश्वासन बाँड्ने तर जितेर गएपछि काम गर्न भने फर्केर नआउने गरेको उनको गुनासो छ ।

गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा दरबार डाँडा ग्रामीण विद्युतका लागि १४ लाख ५५ हजार बजेट छुट्याएर काम पनि सुरु गरेको थियो । स्थानीय समेत रहेका उपभोक्ता समितिका अध्यक्ष सञ्चलाल लुङ्वाका अनुसार बजेट अभावका कारण विद्युत् ल्याउने काम रोकिएकाे छ ।

उनले ४ किलोमिटर दूरीको बस्तीमा बिजुलीको तार र पोल पुर्‍याउनुपर्ने हुँदा अझै पोल र तारको अभाव रहेको र बिजुली ल्याउन नसकिएको बताए । उनले ल्याइएका पोलहरू गाडेर तारहरू पनि टाँगिसकेको छ । अझै तार र एक सय भन्दा बढी बिजुलीका पोलहरू आवश्यक रहेको लुङ्वाले बताए ।

तत्कालीन श्रीपुर छतिवन गाविसमा साढे २ दशकअघि विद्युत् पुगेको थियो । तर, सोही तत्कालीन गाविसको ४ नम्बर वडामा पर्ने दरबार डाँडामा अझै अँध्यारो छ । 'जनप्रतिनिधि आएपछि सबै प्रकारको समस्या स्थानीय स्तरकै पहलमा पूरा हुने भन्ने सुनेका थियौ, हैन रहेछ,' लुङ्वाले भने, 'हाम्रो बस्तीको अन्धकार न स्थानीय सरकारले देख्यो, न प्रदेश र संघीय सरकारले सुन्यो ।'

दरबार डाँडा मात्रै हैन मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका लगायतका क्षेत्रमा पनि विद्युत् विस्तार भएको छैन ।

मकवानपुर जिल्लामा कुलेखानी जलविद्युत् आयोजनाको ३ वटा उत्पादन केन्द्र सञ्चालित छन् । मकवानपुरमा रहेका ६० मेगावाट विद्युत् उत्पादन  क्षमताको कुलेखानी पहिलो, ३० मेगावाटको कुलेखानी दोस्रो र १४ मेगावाटको कुलेखानी जल विद्युत् आयोजना तेस्रोले राष्ट्रिय प्रसारण लाइनमा योगदान पुर्‍याउँदै आएको छ ।
कुलेखानी जलविद्युतले समग्र नेपाली विद्युत् प्रसारण क्षेत्रमा उच्च योगदान गरेको भए पनि मकवानपुरकै सबै क्षेत्र उज्यालो हुन सकेको छैन ।


Author

थप समाचार
x