बागमती

जनताको पसिना खानेहरूको हिसाब गर्नुपर्छ : लामिछाने

इकागज |
साउन २७, २०७९ शुक्रबार २०:२३ बजे

मकवानपुर- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताको पसिना खानेहरूको हिसाब गर्नुपर्ने बताएका छन् । पार्टीको बागमती प्रदेश भेलालाई सम्बोधन गर्दै लामिछानेले जनतालाई झूटा आश्वासन देखाएर पैसा उठाएर खानेहरूको खाता खोलेर हिसाब गर्नुपर्ने समय आएको बताएका हुन् ।

‘मकवानपुरमा सुरुङ मार्गको झूटा आश्वासन देखाएर जनताको पैसा खानेहरू र उद्योग कलकारखाना बन्द गर्नेहरूका खाता खोलेर हिसाब निकाल्ने समय आएको छ,' शुक्रबार बागमती प्रदेश भेलामा लामिछानेले भने, ‘राम्रो कपडा बन्ने हेटौंडा कपडा उद्योग कस्ले बन्द गर्‍याे ? त्यसको हिसाब खोज्नुपर्छ ।'


‘हेटौंडा कपडा उद्योग जहाँ ११ सयभन्दा बढी मानिसहरूले राजगारी गर्थे, तिनका परिवार आम्दानी गर्थे, परिवार चलेको थियो,' उनले भने, 'आफूले बनाउनु त कहाँ हो कहाँ अर्काले बनाईदिएको उद्योग पनि चलाउन नसकेर बन्द गरिदिए , त्यसको हिसाब खोज्न म हेटौंडामा उभिएको छु ।’  उनले उद्योग, कलकारखाना नेताका कमिसन, कार्यकर्ता भर्तीका कारण बन्द हुन पुगेको भन्दै हेटौंडा सिमेन्ट उद्योग पनि घाटामा गइरहँदा बन्द हुने अवस्थामा पुगेको समेत बताए ।

हेटौंडामै भएको निजी सिमेन्ट उद्योगहरू नाफामा जाँदा सरकारी उद्योग भने महिनामै करोडौं घाटामा जानुपर्ने कारणको खोजी गर्नुपर्ने र हिसाब गर्नुपर्ने उनकाे भनाइ छ ।

यसैगरि, नेपालमा प्रदेशको संरचना आवश्यक नै नभएको समेत लामिछानेले दाबी गरे । नेपालका कतिपय राजकीय पदको औचित्य नै नभएको उनले बताए । संघीय संरचनालाई व्यवस्थित तरिकाले सञ्चालन गर्नुपर्ने उनकाे जिकिर छ । बागमती प्रदेशमा १८ जना मन्त्री र मन्त्रालय राजनीतिक दलका आफ्ना र कार्यकर्ता भर्ती केन्द्र मात्र भएकाले केही काम अघि बढ्न नसकेको उनले औँल्याए ।

आगामी मंसिर ४ गते हुने निर्वाचनमा आफ्नो पार्टीलाई जिताएर सरकारमा पुर्‍याउन समेत कार्यक्रममा अनुरोध गरेका छन् । सही नेतृत्व चुन्न सके मात्र देश परिवर्तन हुनसक्ने लामिछानेको भनाइ छ ।

यस्तै लामिछानेले मुलुक चलाउन भिजनभन्दा मुटु चाहिने बताएका छन् । मुलुक चलाउन कुनै वादको जरुरी नभएको बताउँदै उनले नेपालको विकासको लागि पर्यटनको विकास गर्नुपर्ने जिकिर गरे । प्रदेशस्तरीय भेलामा राष्ट्रिय स्वतन्त्र पार्टीका विभिन्न जिल्लाका प्रतिनिधिले 'मेरो कल्पनाको देश' भन्ने आशयमा अभिव्यक्ति दिएका थिए ।


Author

थप समाचार
x