बागमती

सरोकारवालाको सहयोगमा कोरोना विरुद्ध जितः मन्त्री लामा

इकागज |
साउन ३०, २०७९ सोमबार २१:४० बजे

मकवानपुर - बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले सरोकारवालाको सहयोगमा कोरोना विरुद्धको अभियानमा बागमती प्रदेशले सफलता हासिल गरेको बताएका छन् ।

संघीय र प्रदेश सरकारको समन्वय तथा स्वास्थ्यकर्मीको अथक प्रयासमा नागरिकको सहयोगका कारण कोरोना भाइरस विरुद्धको अभियानमा प्रदेशले सफलता हासिल गरेको बताएका हुन् ।


प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गतका कार्यालयहरूको बार्षिक समिक्षा बैठक एवं मन्त्रालयको प्रदेशस्तरीय समस्या समाधान समितिको बैठकमा बोल्दै मन्त्री लामाले सबैको प्रयासमा कोरोना (कोभिड–१९) विरुद्धको अभियानमा सफलता हासिल गरेको बताए ।

खोप अभियानलाई सार्थक बनाउन र नागरिकलाई कोभिड–१९ को जोखिमबाट बचाउन बागमती प्रदेश सरकारले कोभिड–१९ विरुद्धको खोप अभियानमा सतप्रतिशत सफलता हासिल गरेकोमा लामाले सबैलाई आभार व्यक्त गरे । प्रधानमन्त्री शेरबहादुर देउवाको सतप्रतिशत खोप अभियानलाई सार्थक बनाउन बागमती प्रदेश सफल रहेको बताए ।

‘कोभिड महामारी, नीतिगत समस्या र प्रशासनिक समस्याका कारण लक्ष्य अनुसारको प्रगतिमा समस्या रहेको छ’ मन्त्री लामाले भने– ‘चालु आर्थिक बर्ष ०७९/०८० मा मन्त्रालय अन्तर्गतका सबै निकायले लक्ष्य अनुसारको प्रगति गर्ने गरी काम गर्नु पर्छ ।’ जनतालाई स्वास्थ्य सेवा पुर्याउने स्वास्थ्य संस्थाहरुको सेवा प्रवाह ‘स्मार्ट’ हुनुपर्ने भन्दै उनले यसतर्फ लाग्न सबै निकाय कार्ययोजना अनुसार अघि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका सदस्य प्रल्हाद लामिछानेले प्रदेशका सबै मन्त्रालयहरूको समस्या एकै किसिमको रहेकाले यसलाई समाधान गर्न सबैको सामुदायिक प्रयास आवश्यक रहेको बताए ।

उनले कार्यालयहरूको पूर्वाधार विकास, जनशक्ति व्यवस्थापन, सुशासन र पारदर्शिता जस्ता विषयमा विशेष ध्यान दिएर अघि बढ्न सुझाव दिए । प्रदेश नीति तथा योजना आयोगले प्रदेश सरकार अन्तर्गतका निकायहरुको काम कारवाहीबारे अनुगमन गरेको र आवश्यक सुझाव समेत दिएकाले सोही अनुसार सुधारको अपेक्षा गरिएको लामिछानेले बताए ।

स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्काको अध्यक्षतामा बसेको समीक्षा बैठकमा मन्त्रालय, मन्त्रालय अन्तर्गतका विभिन्न निकायहरुले गत आर्थिक वर्ष २०७८/०७९ को कार्यप्रगति, समस्या र समाधान प्रस्तुत गरेका थिए ।


Author

थप समाचार
x