बागमती

बुटवलको सडक समस्यामा उपमहानगरकाे चासाे

इकागज |
साउन ३१, २०७९ मगलवार १७:२ बजे

बुटवल- बुटवलको मुख्य सडक निर्माणका समस्याबारे बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले सडक विभागको ध्यानाकर्षण गराएका छन् ।
नगर प्रमुख पाण्डेयसहितको टोलीले सडक विभागका महानिर्देशक अर्जुनजंग थापालाई भेटेर बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक निर्माणमा भएको ढिलासुस्ती र लापरबाहीबारे ध्यानाकर्षण गराएका हुन् ।

भेटका क्रममा प्रमुख पाण्डेयले सडक निर्माणमा गम्भीर नहुने र पटक-पटकको ताकेतापछि पनि लापरबाही गर्ने निर्माण कम्पनीको म्याद थप नगर्न सुझाव दिएका थिए । ‘बुटवलको सडकको दुरावस्था समाधानका लागि हामीले निरन्तर प्रयत्न गरिरहेकै थियौं,’ नगर प्रमुख पाण्डेयले भने, ‘ती प्रयासहरू पछि सडक विभागकै महानिर्देशकलाई भेटेर ध्यानाकर्षण गराउँदा अझै बढी चासो पुग्ने र सडक निर्माणको काम अघि बढ्ने विश्वासका साथ हामीले भेटेर सबै समस्याहरूको बारेमा जानकारी गराउँदै निर्माण कम्पनीको लापरबाहीबारे पनि जानकारी गराएका छौं ।’


उनले समयावधिभित्र काम सम्पन्न नगर्ने निर्माण कम्पनीको म्याद नथप्‍न र सडक निर्माणलाई छिटो सम्पन्न गर्ने उपायको खोजी गर्न सुझाव दिएको बताएका छन् । 
बुटवल-बेलहिया व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत निर्माण भइरहेको सडकको बुटवल चौराहादेखि गोलपार्क खण्डको बारेमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेको नेतृत्वमा निरन्तर चासो र दबाब दिइँदै आएको छ ।

आयोजना कार्यालय, सडक डिभिजनमा डेलिगेसन र लगातारको छलफल पश्चात् बुटवल क्षेत्रका लागि  बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीको नेतृत्वमा अनुगमन तथा सहजीकरण समिति समेत बनेको छ ।

समितिले साप्ताहिक रूपमा बैठक बसेर कार्यप्रगति तथा समीक्षा गर्दै सडक विस्तारका क्रममा देखिएको समस्या समाधानका लागि समन्वय र सहजीकरण गर्दै आएको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए ।


Author

थप समाचार
x