बागमती

'सामाजिक विकृति अन्त्य गर्न सूचना प्रणालीको सही व्यवस्थापन आवश्यक'

इकागज |
साउन ३१, २०७९ मंगलबार १७:५५ बजे

मकवानपुर- सामाजिक विकृति अन्त्य गर्न सूचना प्रणालीको सही व्यवस्थापन आवश्यक हुने बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले बताएकी छिन् ।

आज मकवानपुरको हेटौंडामा सामाजिक सूचना व्यवस्थापन प्रणालीको उद्घाटन गर्दै उनले वैदेशिक रोजगारका नाममा भइरहेको बेचविखन जस्ता आपराधिक कार्य रोकथाममा प्रणालीले सहयोग गर्ने बताइन् । 


मानव बेचविखनसँगै महिला, बालबालिका लगायतको एकिन तथ्यांक नहुँदा बजेट-कार्यक्रम निर्माण र कार्यान्वयनमा समस्या रहेको भन्दै मन्त्री मोक्तानले सामाजिक-आर्थिक विकास गर्नका लागि पनि सूचना प्रणाली छिटो लागू गर्नुपर्ने उल्लेख गरिन् । 

असहाय बालबालिकाको एकिन तथ्यांक नहुँदा समस्या भएको भन्दै उनले त्यस्ता बालबालिकाका लागि प्रभावकारी कार्यक्रम ल्याउन नसकेको जिकिर गरिन् । तथ्यांक संकलनमा स्थानीय तहहरूको महत्त्वपूर्ण भूमिका रहेको उनले औंल्याइन् । यस कार्यमा एकद्वार प्रणाली उचित हुने उनको सुझाव थियो। 

कार्यक्रममा बागमती प्रदेशकी कृषि तथा पशुपन्छी विकास  राज्यमन्त्री ईन्द्रमाया गुरुङले सामाजिक सूचना प्रणाली सम्बन्धी कार्य महत्वपूर्ण रहेको भन्दै सूचना संकलन, व्यवस्थापन, पहुँच र परिमार्जनका लागि तीनै तहको सरकारले विशेष भूमिका खेल्नुपर्नेमा जोड दिइन् । 

कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका उपसचिव भरतराज शर्माले सामाजिक सूचना व्यवस्थापन प्रणालीको परिचय, महत्व, उद्देश्य, सूचकहरू, निर्माण प्रकृया, प्रगति अवस्था, अपेक्षाबारे जानकारी गराएका थिए । 

कार्यक्रममा शक्ति समूहकी कार्यकारी निर्देशक बालकुमारी दर्लामीले बेचविखन अन्त्यको लागि सामूहिक ऐक्यबद्धता आवश्यक भएको बताइन् । कार्यक्रममा मकवानपुर, काठमाडौँ, नुवाकोट र सिन्धुपाल्चोक जिल्लाका गाउँपालिका तथा नगरपालिकाका कर्मचारीहरूको सहभागिता रहेको छ । 

साेही क्रममा हाल संघीय सरकारले व्यवस्थापन गर्न लागेको सूचना व्यवस्थापनमा मानव बेचविखनको घटनालाई प्राथमिकता दिएर तथ्यांक संकलन गरिने बारे जानकारी गराइएको थियो । सामाजिक सूचना व्यवस्थापन प्रणालीमा हिंसा पीडित, महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएकाहरूको पनि संकलन गरिने छ ।

अमेरिकी विकास नियोग यूएसएड र बेलायती दातृ निकाय यूकेएडको आर्थिक सहयोगमा वीनरक ईन्टरनेशनल, शान्ति फाउण्डेसन र शक्ति समूहले संयुक्त रूपमा कार्यक्रम आयोजना गरेको हो ।


Author

थप समाचार
x