बागमती

प्रदेश प्रहरीले डिजिटल चेक प्वाईन्ट निर्माण गर्ने

याे वर्ष गरिने १०० वटा प्राथमिकताको कार्यक्रम सार्वजनिक

इकागज |
भदौ १, २०७९ बुधवार १२:१३ बजे

मकवानपुर । बागमती प्रदेश प्रहरीले डिजिटल चेक प्वाईन्ट निर्माण गर्ने भएको छ । प्रदेश प्रहरीले शान्ति सुरक्षा तथा अमनचयनलाई दीगो, फलदायी र प्रभावकारी बनाउन डिजिटल चेक प्वाईन्ट निर्माण गर्ने भएको हो । 

प्रहरीले यस आर्थिक वर्षमा गर्ने १०० वटा प्राथमिकताको कार्यक्रम सार्वजनिक गरेको छ । जसमा डिजिटल चेक प्वाईन्ट निर्माण गर्ने योजना सबैभन्दा उच्च प्राथमिकतामा रहेको प्रदेश प्रहरीले जनाएको छ ।

बागमती प्रदेश प्रहरी कार्यालयले निर्धारण गरेको अन्य प्राथमिकताका कार्यहरुमा शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापन, अपराध अनुसन्धान तथा नियन्त्रण, ट्राफिक व्यवस्थापन एवं दुर्घटना न्यूनिकरण, मानवश्रोत एवम् प्रशासनिक व्यवस्थापन, भौतिक पूर्वाधार र अन्य स्रोत साधन व्यवस्थापन, आर्थिक अनुशासन र पारदर्शिता, नागरिक केन्द्रित प्रहरी सेवा प्रवाहमा सुदृढीकरण मानव अधिकार संरक्षण र सम्बर्धन रहेको छ ।

यसैगरी प्रहरीले विपद् व्यवस्थापन र प्रतिकार्य, आन्तरिक सुपरिवेक्षण तथा गुनासो व्यवस्थापन, कर्मचारी उत्प्रेरणा तथा कल्याणकारी कार्यक्रम संचालन र विभिन्न नविनतम र रचनात्मक कार्यक्रमको संचालन गर्ने भएको छ ।

उल्लेखित प्राथमिकतामा आधारित रहेर बागमती प्रदेशले बिभिन्न १ सय वटा क्रियाकलाप संचालन गर्ने बताईएको छ । जसमा सिसिटिभि जडान, हातहतियार बरामद तथा पक्राउ, घरेलु मदिरा नष्ट, संघीय निर्वाचन विशेष सुरक्षालगायतका क्रियाकलापहरु संचालन गरिने कार्यालयले जनाएको छ ।

त्यस्तै दुर्घटना न्यूनीकरणका तथा सवारी व्यवस्थापनका लागि लागि रिफ्रेस सेन्टर निर्माण, सवारी साधनमा लेखिएको लेख रचना मेटाउने र तोकिएको क्षेत्रमा मात्र सवारी पार्किङ गर्ने ब्यवस्था मिलाउने कार्यालयको योजना रहेको छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत समुदाय प्रहरी साझेदारी समिति पुनर्गठन गर्ने, सचेतना कार्यक्रम, नागरिक सुनुवाई, विद्यार्थीसँग प्रहरी, व्यवस्थित नागरिक सहायता कक्ष, विभिन्न व्यक्तिसँग छलफल र अन्तकृया, मानव अधिकार सम्बन्धी प्रशिक्षण कार्य लगायतका गतिविधि संचालन गरिने कार्ययोजनामा उल्लेख गरिएको छ ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले चालु आर्थिक वर्ष २०७९।०८० को “बार्षिक कार्ययोजना २०७९” मार्फत यस्ता योजनाहरु सार्वजनिक गरेको हो । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले बार्षिक कार्ययोजना सार्वजनिक गर्दै सबै काम पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

बागमती प्रदेश प्रहरीको जिम्मेवारी क्षेत्रमा सम्पादन गरिने कार्यहरुलाई प्रभावकारी बनाएर प्रदेशको समग्र शान्ति सुरक्षा, अपराध रोकथाम तथा अनुसन्धान लगायत प्रहरीको दायित्व निर्वाहलाई व्यवस्थित र परिणाममुखी बनाउन बार्षिक कार्ययोजना तयार गरिएको प्रहरी नायव महानिरीक्षक बज्राचार्यले बताए ।

आर्थिक वर्ष २०७९।८० मा बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले विभिन्न १२ वटा प्राथमिकताका क्षेत्र र लक्ष्यहरु निर्धारण गरी १०० वटा क्रियाकलाप र सूचकमा रही कार्य संचालन गर्ने बार्षिक कार्ययोजना २०७९ मा उल्लेख गरिएको छ ।

कार्ययोजना सार्वजनिक कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बज्राचार्यले नवनिर्मित कार्ययोजनाको प्रमुख लक्ष्य नै विगतमा कार्य सम्पादनको क्रममा देखिएका कमी कमजोरीलाई सुधार गर्दै प्रदेश प्रहरीको भूमिका र जिम्मेवारीलाई जवाफदेही, पारदर्शी र व्यवसायिक बनाउनुका साथै सेवा प्रवाहलाई प्रणालीबद्ध एवं निर्देशित तवरले संचालन गरी आफ्नो जिम्मेवारी क्षेत्रलाई शान्त र सुरक्षीत बनाउने रहेको बताए।

कार्ययोजना संगठन संचालनको मेरुदण्ड भएको बताउँदै उनले आम नागरिकले विश्वास र भरोसा गर्न योग्य प्रहरी निर्माणमा कार्ययोजनाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

नेपाल प्रहरी संगठनको लक्ष्य प्राप्ति सामूहिक कार्यबाट मात्र सम्भव हुने बताउँदै बज्राचार्यले संवेदनशील भई तोकिएको जिम्मेवारी पूरा गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए । सम्पूर्ण प्रहरी कर्मचारीहरुले कार्ययोजना अध्ययन गरी मासिक, त्रैमासिक र अर्ध वार्षिक रुपमा चेक लिष्ट बनाई कार्य गर्नुपर्ने उनको भनाई रहेको छ ।

कार्ययोजनाको उद्देश्यमाथि प्रकाश पार्दै प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मीले पहिचान गरिएका प्राथमिकताका क्षेत्रहरू र त्यसले तोकेका गतिविधिहरू तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने बताए ।



Author

थप समाचार
x